चितवन । कोरोनाका कारण चितवनको उत्कृष्ट पर्यटकीय गन्तव्य स्थल जलवीरे झरनालाई ठूलो असर परेको छ । १२ महीना नै पर्यटक आउने यो झरनामा निषेधाज्ञाका कारण पर्यटक आउन सकेका छैनन् ।
चितवनको एकमात्र इच्छाकामना गाउँपालिकाको लागि यो राम्रो आम्दानीको स्रोत थियो । मनकामना केबुलकार पछिकै आम्दानी गर्न सकिने पर्यटकीय गन्तव्य भए पनि विगत डेढ वर्षदेखि भने यहाँबाट हुने आम्दानी ठप्प बनेको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले बताइन् ।
उनका अनुसार जलवीरे झरनाबाट मात्रै हालसम्म करीब ३० लाख रूपैयाँभन्दा बढी आम्दानी गुमेको छ । ‘जाडोको सिजनमा नुहाउन त्यति पर्यटक नआएपनि अन्य महीनाहरुमा भिड हुन्थ्यो उनले भनिन्, कोरोनाले न पर्यटक आउँछन् न आम्दानी भएको छ ।’ गाउँपालिकाले यहाँ घुम्न आउने स्थानीयलाई प्रति व्यक्ति २० रुपैयाँ, बाह्य जिल्लाको आन्तरिक पर्यटकको लागि ३० र विदेशी पर्यटकको लागि ५० रुपैयाँ शुल्क तोकेको छ ।
गाउँपालिकाको तथ्यांकअनुसार गर्मीको समयमा दैनिक १० देखि १५ हजार जना यहाँ आउने गर्थे । लामो झरना अवलोकन गर्न र नुहाउनका लागि काठमाडौं, पोखरा लगायतका आन्तरिक पर्यटकहरुको भीड हुने गरेको गुरुङले बताइन् । ‘देशकै मुटु मुग्लिन भएर जाने बाटोमै पर्छ, उनले भनिन्, पूर्व पश्चिम जहाँका मानिस पनि रमाएर फर्किन सक्ने भए ।’
निषेधाज्ञा खुकुलो भएपछि पर्यटकको चहलपहलमा वृद्धि
निषेधाज्ञा खुकुलो हुँदै गएपछि र यातायातको आगमन बढ्दै गएपछि पछिल्ला दिनहरुमा पर्यटकहरु जलवीरे झरना जान थालेका छन् । गर्मी बढ्दै गए पनि निषेधाज्ञा जारी गरेपछि पूर्णरुपमा ठप्प भएको गाउँपालिकाले आधिकारिकरुपमा खुलाएको घोषणा नगरे पनि झरना आउनेलाई नरोकेकोले चहलपहल बढ्दै गएको हो ।
‘त्यति साह्रै जोखिम र भिड पनि छैन, घुम्न आउनेलाई हामीले रोकेका छैनौं, गुरुङले भनिन्, सरकारको आदेश अनुसार औपचारिक रुपमा पछि खुल्ला ।’ अहिले कति पर्यटक घुम्न आए भनेर यकिन तथ्यांक नराखे पनि चहलपहल तुलनात्मकरुपमा बढ्दै गएको उनले बताइन् ।
गाउँपालिकाभित्र कोरोना संक्रमितको संख्या न्यून भए पनि जिल्लाको अन्य क्षेत्रमा अझै कम नभएको हुँदा औपचारिक रुपमा खुलाउने वातावरण नभएको उनले बताइन् । ‘अहिले पर्ख र हेरकै अवस्थामा छौं संक्रमण घटे खोल्नु पर्ला, बढ्यो भने बन्द गर्नुपर्ने अवस्था आउँछ ।’ उनले भनिन् कोरोनाको जोखिम घटेपछि थप व्यवस्थित गरेर पर्यटकको संख्या वृद्धि गर्ने योजना गाउँपालिकाको रहेको उनको भनाइ छ ।
हाल बाह्य पर्यटक शून्य जस्तै भएपनि यहाँ परिवारका सदस्य, पौडी खेल्ने केही समूह र चितवन जिल्ला भएर अन्य जिल्ला जाने पर्यटकहरु आएको उनले जानकारी दिइन् । झरनाको आकर्षण बढाउन गोलघर, रेलिङसहितको सिँढी बाटो र शौचालयको सुविधा सहितका संरचना निर्माण गरिएकोे छ ।