काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वाेच्च अदालतको फैसला निष्पक्ष रहेकाे बताएका छन्।सोमबार सर्वाेच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने र देउवालाई प्रधानमन्त्री बनाउने परमादेश जारी गरेपछि आफ्नै निवास बूढानीलकण्ठमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले अदालतको फैसलाले लोकतन्त्र बलियो भएको बताए।
यसले विधिको शासन स्थापनामा सहयोग पुग्ने देउवाले बताए। नयाँ सरकार गठनका विषयमा पाँच दलीय गठबन्धनभित्र छलफल गरेर अघि बढ्ने देउवाले बताए।
प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसलाबाट संविधान र लोकतन्त्र रक्षाका लागि मद्दत पुगेको भन्दै देउवाले अब मुलुकमा विधिको शासन कायम हुने बताए ।
‘ओलीजीले बारम्बार संविधान मिच्नुभएको थियो । हामीले असंवैधानिक कदमको विरोध गर्दै आएका थियौँ । सर्वोच्चको आदेशपछि विधिको शासनको जित भएको छ’, देउवाले भनेका छन् ।
उनले संसद पुनःस्थापनाको पक्षमा रहेका सबै दलसँग छलफल र परामर्श गरेर अगाडि बढ्ने समेत बताएका छन् । ‘गठबन्धनको बैठक बस्दैछौँ । सबैसँग सल्लाह गरेर अगाडि बढ्छु’, देउवाले भने ।