चितवन , भरतपुरस्थित बोस्टन इन्टरनेशल कलेजले ‘बोस्टन फिएस्टा’ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । फिएस्टाको तेस्रो संस्करण यही असार ३० र ३१ गते हुने आज (बिहीबार) कलेजमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिईएको छ । कलेजका विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञानका साथै व्यहारिक ज्ञान दिने उद्धेश्यसहित फिएष्टाको आयोजना गरिएको हो । बोस्टन फिएस्टाको पहिलो र दोस्रो संस्करणको सफलतापछि तेस्रो संस्करण आयोजना गर्न कलेजले बताएको छ ।
यस अघि सन् २०१८ मा पहिलो र २०१९ मा दोस्रो संस्करण आयोजना भएको थियो । कोरोना भाईरस महामारीका कारण यस अघि नै हुन पर्ने तेस्रो संस्करण यस वर्ष आयोजना गर्न लागिएको कार्यक्रम संयोजक सुभास अर्यालले जानकारी दिए । स्नातक र स्नाकोत्तर स्तरका विद्यार्थीहरुले आयोजना गर्ने फिएस्टामा राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारको प्रस्तुतीसँगै व्यवसायिक स्टलहरु पनि रहने अर्यालले बताए ।
कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई प्राथमिकता दिँदै व्यवसायिक स्टल राखिने छ । विद्यार्थीलाई व्यवहारिक ज्ञान सिकाउनुका साथै आफ्नो कला प्रस्तुत गर्ने अवसर प्रदान गर्नका लागि कलेजले फिएस्टा आयोजना गर्दै आएको छ । कार्यक्रममा १५ वटा स्टल रहनेछ । ती मध्य कलेजका विद्यार्थीहरुको आठ वटा फुड स्टल रहनेछन् । यस्तै अन्य व्यवसायीहरुका लागि पाँच वटा स्टल छुट्टाईएको छ । ट्राफिक सचेनतामुलक सन्देशसहित जिल्ला ट्राफिक कार्यालयका लागि तीन वटा स्टल छुट्टाईएको अर्यालले बताए ।
उनका अनुसार ‘एन्टी स्मोकिङ क्याम्प’ का लागि र सचेतनामुलक कार्यक्रमका लागि महानगरलाई एक–एक वटा स्टल उपलब्ध गराइनेछ । पहिलो दिन नै सुरज शाक्य र अभिषेक बरियाले व्यत्तित्व बिकास सम्बन्धी प्रशिक्षण पनि दिनेछन् । पहिलो दिन नै दश जोड २ मा अध्ययनरत विद्यार्थीहरुबीच नृत्य प्रतियोगिता हुनेछ भने विद्यार्थीहरुको गायन प्रस्तुती पनि रहनेछ । यस्तै विद्यार्थीहरुले बिभिन्न सांस्कृतिक भेषभुषामा ¥याम्प वाक गर्नेछन् ।
कार्यक्रमको दोस्रो दिन अहिलेकी चर्चित गायिका रचना रिमालको बिशेष प्रस्तुती रहनेछ । यस्तै स्ट्याण्ड अप कमेडियन आदर्श मिश्रसहितको ‘टेबल मुनी’ को टिमका साथै स्थानीय ब्याण्ड र डिजेको पनि प्रस्तुती रहनेछ ।
कार्यक्रमको प्रचार प्रसारका लागि नारायणी नदी किनार, सौराहा र गैंडाचोक र पर्साचोकमा फ्लास मोवको आयोजना गरिनेछ । कलेज परिसरमा नै हुने कार्यक्रम अन्य दर्शकले पनि अवलोकन गर्न पाउनेछन् । जसका लागि एक सय रुपैयाँको टिकटको व्यवस्था गरिएकोे छ । टिकटबाट उठेको रकम सामाजिक कार्यका लागि सहयोग गरिने कलेजले बताएको छ । .