सूर्यप्रसाद अधिकारी,चितवन । चालु आर्थिक बर्ष ०७८, ०७९ को जेठ महिनामा आन्तरिक राजश्व कार्यालय, भरतपुरको राजश्व असुली ६ दशमलब ८२ प्रतिशतले बढेको छ । कार्यालयलाई विभागले सो महिनाको लागि २ अर्ब ८८ करोड ७१ लाख ८९ हजार लक्ष्य दिएकोमा कार्यालयले ३ अर्ब ८ करोड ४१ लाख ९४ हजार रुपैया असुली गरेको हो । कार्यालयले आयकर, बहालकर, ब्याजकर,मुल्य अभिबृद्धि कर, अन्तशुल्क ,स्वास्थ्य सेवा र शिक्षा सेवा करमा राजश्व असुली गर्दै आएको छ ।
ती शिर्षकमध्ये कार्यालयले आयकर शिर्षक र अन्तःशुल्क शिर्षक बाहेक अन्य शिर्षकमा लक्ष्य भेट्टाउन सकेको छैन । जस अनुसार आयकर शिर्षकमा जेठ महिनामा १० करोड ११ लाख ८८ हजार लक्ष्य दिइएकोमा कार्यालयले १२ करोड ७८ लाख २४ हजार रुपैंया असुल गरेको छ । अन्तःशुल्क शिर्षकमा २ अर्ब ४९ करोड ६८ लाख ३६ हजार लक्ष्य दिईएकोमा कार्यालयले २ अर्ब ८० करोड १६ लाख ९१ हजार रुपैंया राजश्व असुली गरेको छ ।
यस्तै बहालकर शिर्षकमा ६८ लाख ७० हजार लक्ष्य दिईएकोमा २७ लाख ६ हजार, व्याजकर शिर्षकमा १ करोड २६ लाख ८६ हजार लक्ष्य दिएकोमा २६ लाख २ हजार रुपैंँया, स्वास्थ्य सेवा करमा ५७ लाख ८ हजार लक्ष्य दिएकोमा १८ लाख ५ हजार र शिक्षा सेवा करमा ३७ लाख ५ हजार लक्ष्य दिएकोमा कुनैपनि कर असुल गरेको छैन ।
कार्यालयका कर अधिकृत शुशील लम्सालले यो कार्यालयको मुख्य श्रोत अन्तःशुल्क शिर्षक भएकोले यो शिर्षकमा बढी कर असुली हुने बताए । ‘अन्तशुल्क बेस्डनै हो हाम्रो कार्यालय, अन्य शिर्षकमा कर असुली बढ्नु र घट्नुले खासै असर पार्दैन , उनले भने, विभागले दिएको समग्र लक्ष्य पुरयाउनुनै हाम्रो उद्धेश्य हुन्छ ।’ यसअघि बिशेषगरी सरकारी निकायको मुल्य अभिबृद्धि करको आधा प्रतिशत कर असुली हुंँदै आएकोमा यसपटक ३ दशमलब कर मात्र तिर्ने व्यवस्था गरिएकोले पनि लक्ष्य अनुसार उक्त शिर्षकमा कर असुली नभएको उनको भनाई छ । ‘करको दायरा र दायित्व पनि खुम्चिदै गएको छ , उनले भने, ठूला करदाताले यहांँ कर बुझाउंँदैनन ।’
मझौला करदाताको कारोबार बढेर ठूला करदातामा गएको र उनीहरुले केन्द्रमा कर बुझाउने भएका कारण पनि सबै शिर्षकमा कर भेट्टाउन नसकिएको उनको भनाई छ ।
विभागले बार्षिक १ अर्ब भन्दा माथि कारोबार गर्नेलाई ठूला करदाता, ५० करोडसम्म कारोबार गर्नेलाई मझौला करदाता र त्यो भन्दा कम कारोबार गर्नेलाई साना करदातामा वर्गीकरण गरेको छ ।
कार्यालयले यो चालु आर्थिक बर्षको लागि २१ अर्ब ७२ करोड २१ लाख ७९ हजार लक्ष्य दिएको ११ महिनाको अवधिमा १९ अर्ब ७३ करोड २१ लाख ७३ हजार राजश्व असुलेको कार्यालयले जानकारी दिएको छ ।