चितवन । भरतपुरमा रहेको एजुयर एकेडेमीले तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएका चालक दलका सदस्यहरुको सम्झनामा दीप प्रज्ज्वलन गरेको छ । जेठ १५ गते पोखराबाट मुस्ताङ्ग उडेको तारा एयरको विमान दुर्घटनाबाट ज्यान गुमाएका क्याप्टेन प्रभाकर घिमिरे, को—पाइलट उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापाको १३ औं दिन पारेर आज सांँझ चौविसकोठीमा दीप प्रज्ज्वलन गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नम्बर १० का अध्यक्ष परमेश्वर खनाल, एजुयर एकेडेमीका निर्देशक विशालबाबु चापागाईं , कम्पास एभिएसनका मनिष ढकाल लगायत एकेडेमीका प्रशिक्षार्थीको सहभागिता थियो ।
प्रमुख अतिथि खनालले देशको खराब हवाई मार्ग र भरपर्दो संयन्त्र अभावका कारण चालक दल सदस्य सहित २२ जनाले अकालमा ज्यान गुमाउनु परेको बताए । देशका हरेक क्षेत्र र संयन्त्रलाई चुस्त र दुरुस्त पार्न युवाको आवश्यकता रहेको भन्दै खनालले अव युवाहरु नेतृत्वमा आउनुपर्ने खांँचो भएको बताए । उनले मृतक चालक सदस्य सहित २२ जनाको मृत आत्माको चीर शान्तिको कामना व्यक्त गर्दै समवेदना व्यक्त गरे ।
सो क्रममा बोल्दै एजुयर एकेडेमीका निर्देशक चापागाईंले जेठ १५ गते भएको अकल्पनीय दुर्घटनाले सम्पूर्ण हवाईकर्मी स्तब्ध भएको भन्दै मृतक परिवारको दुःखमा साथ तथा सान्त्वना दिन दीप प्रज्जवलन गरिएको बताए । मृतक चालक सहित यात्रुप्रति श्रदान्जली व्यक्त गर्दै चापागाईले मृतक परिवारप्रति समवेदना प्रकट गरे । कम्पास एभियसनका ममता पौडेलले मृतक प्रति श्रदाञ्जली तथा मृतक परिवारप्रति समवेदना प्रकट गरेकी थिइन ।दीप प्रज्जवलन कार्यक्रममा कम्पास एभिएसनले समेत सहकार्य गरेको थियो ।