चितवन । स्थानीय निर्वाचन सकिएसंँगै भरतपुर महानगरपालिकाले अबको पहिलो प्राथमिकतामा फोहर व्यवस्थापनलाई राख्ने भएको छ । यसअघि फोहोर व्यवस्थापनको दिर्घकालीन व्यवस्थापन गर्न नसकेको भन्दै प्रमुख दाहालले अब यसलाई पहिलो प्राथमिकतामा राख्ने बताईन ।
विश्व वातावरण दिवस–२०२२ को अवसरमा बिहीबार भरतपुर महानगरपालिकाले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमलाई समापन गर्दै प्रमुख दाहालले सो कुरा बताएकी हुन् ।
महानगरले विकास र पूर्वाधारको हिसाबले फड्को मारिसकेकाले अबको प्राथमिकता फोहर व्यवस्थापन, हरियाली प्रर्वद्धन गर्न सौन्दर्यकरण गर्ने लगायतका कामलाई पहिलो प्राथमिकता राख्ने उनको भनाई थियो । ‘भरतपुरलाई सफा र सुन्दर बनाउने सबैको सझा संकल्प हो’ उनले भनिन, ,‘पहिलाको निरन्तरताले मात्रै पुग्दैन । यो कार्यलाई तीब्र गतिमा अगाडि बढाउनुपर्छ । महानगरपालिकाबाट मात्रै सुन्दर शहर निर्माण असम्भव छ ।’
अन्तर्राष्ट्रिय स्तरको फोहर व्यवस्थापनका लागि महानगरपालिकाले केही कामहरु अगाडि बढाई सकेको जानकारी दिंँदै आगामी नगरसभामार्फत सरसफाईको क्षेत्रको लागि राम्रा नीति, बजेट र कार्यक्रम ल्याउने उनले बताईन । महानगरपालिकालाई सौन्दर्यकरण, हरियाली तथा सुन्दर र
स्वच्छ शहर निर्माण गरी अन्य शहरले पनि अनुशरण गर्न योग्य बनाउन सबैले आफ्नो ठाँउबाट सहयोग गर्नु पर्नेमा उनको जोड थियो । कार्यक्रममा बोल्दै महानगर उपप्रमुख चित्रसेन अधिकारीले भरतपुरका टोल विकास संस्थामार्फत महानगरको सरसफाईमा अघि बढ्ने बताए । फोहरलाई व्यवस्थित गरी वातावरण संरक्षण गर्न सकेमात्रै महानगरले समृद्ध हासिल गर्ने उनको भनाई थियो ।
वातावरण दिवसको अवसरमा भरतपुर महानगरपालिकाको सहकार्यमा यहाँका दर्जन बढी संघसंस्थाले वातावरण संरक्षणसम्बन्धी कार्यक्रम सञ्चालन गरेका थिए ।
दिवसको अवसरमा भरतपुर महानगरमा पर्ने राजमार्ग क्षेत्रको सरसफाई, विद्यालयमा निबन्ध प्रतियोगिता, विद्यालयमा पार्क निर्माण, पार्कहरु गोडमेल, वृक्षारोपण तथा राप्ती तटिय क्षेत्रमा सरसफाई तथा विभिन्न सरसफाईमूलक कार्यक्रम गरिएको भरतपुर महानगरपलिकाका वातावरण शाखा प्रमुख विराट घिमिरेले जानकारी दिए ।
समापन समारोहमा भरतपुर महानगरपालिको सरफाई तथा वातावरण संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने संघसंस्था, अभियान्ता तथा कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।