भरतपुर । यात्रा ग्रुप भरतपुरले खेलका क्रममा हुने चोटपटक बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम आज (शनिबार) बिहान भरतपुरमा सम्पन्न गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि भरतपुर १२ का वडाध्यक्ष लेखराज पन्त (हरि) ले खेलाडीहरुलाई चोटपटकबाट जोगिएर खेल खेल्न आग्रह गरे । उनले यात्रा ग्रुपलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता पनि जनाए । खेल क्षेत्रको बिकासका लागि वडाबाट बजेट छुट्टाउने उनले बताए ।
चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्कीले फुटबल र चोट एक सिक्काका दुई पाटा जस्तै भएको बताए । फुटबल खेल्ने क्रममा नचाहदा नचाहदै पनि चोट लग्ने उनको भनाई थियो । उनले कहिले काही खेलाडीकै गल्तिका कारण चोट लाग्ने भन्दै खेल्ने क्रममा अनुशासित हुनुपर्नेमा जोड दिए ।
यस्तै उनले खेलाडीहरुलाई प्रतियोगिताको स्तर र व्यवस्थापन बारे बुझेर मात्रै सहभागी हुन आग्रह गरे । सबै प्रतियोगिता व्यवस्थित नहुने भन्दै संघसँगको समन्वय र सहकार्यमा भएका प्रतियोगिताहरुमा मात्रै सहभागिता जनाउन आग्रह गरे । यसले ठूलो चोट बोक्ने खतरा कम गर्ने उनको भनाइ थियो ।
भरतपुर अस्पताल बिकास समितिका अध्यक्ष एवं यात्रा ग्रुपमा सल्लाकार फिजिसियन डा. भोजराज अधिकारीले फुटबल आँफैमा फिजिकल खेल भएकोले खेल्ने क्रममा खेलाडीहरु सजग हुनुपर्ने बताए । शारीरिकसँगै मानसिक रुपमा पनि खेलाडीहरु उत्तिकै स्वस्थ हुन सके मात्रै नतिजा राम्रो आउने उनको भनाई थियो ।
युरोकपमा डेनिस खेलाडी क्रिस्टियन एरिक्सनको उदाहरण दिदै उनले कहिले काही त्यस्ता समस्या निम्तिन सक्नेतर्फ सचेत गराए । खेलाडीहरुलाई पर्याप्त निन्द्रा र आराम नपुग्दा त्यस्ता समस्या आउन सक्ने उनले बताए ।
कार्यक्रमलाई वरिष्ठ अर्थस्कोपी हाड जोर्नी तथा नशा रोग विषेशज्ञ डा सुशील थापाले सहजिकरण गरेका थिए । उनले खेलका क्रममा हुन सक्ने चोट पटक र त्यसको उपचार बारे उपस्थित खेलाडीहरुलाई जानकारी गराएका थिए ।
फुटबल खेलाडीमा ’लिगामेन्ट टियर’ को समस्या धेरै हुने भन्दै समयमै उपचार गराउन सके त्यसले ठूलो समस्या निम्त्याउन नदिने उनले बताए ।
’लिगामेन्ट टियर’ भए शल्यक्रिया गरेर केही महिनामा नै पहिलाकै अवस्थामा फर्किन सक्ने उनको भनाई थिए । हेल्चक्र्याँई गरेर त्यसले खेलाडीको खेल जीवनमै ठूलो धक्का लाग्नेतर्फ सबैलाई सचेत गराए । उनले खेलाडीहरुको जिज्ञासा सुनेर त्यसको समाधानको उपाय बारे समेत प्रकाश परेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गरेका यात्रा ग्रुपका संरक्षक सुदिप सिंह अधिकारीले खेलाडीहरुका लागि यस किसिमको कार्यक्रम निकै महत्त्वपूर्ण हुने बताए । यात्रा ग्रुपका अध्यक्ष कृष्ण कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ३० भन्दा बढी फुटबल खेलाडीहरु सहभागी थिए ।