राप्ती । श्रीमानको क्रुर यातनाबाट घाइते भएकी एक महिलाको आज राती मृत्यु भएको छ । खैरहनी नगरपालिका वडा नंं १० की गीता माझीको भरतपुर अस्पतालमा उपचारको क्रममा सोमबार राति ११ः५० बजेको समयमा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।
भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले शल्यकृया गरेको माझीको मुटुको चाल एक्कासी बन्द हुने समस्याका कारण मृत्यु भएको हो। यो समस्या प्रति एक लाखमध्ये दुई जनामा देखिने चिकित्सकहरु बताउंँछन । हाल माझीको शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।
यही जेठ १२ गते साँझ ४० वर्षीय श्रीमान् रामचन्द्र माझीले कोठामा बन्धक बनाई मलद्वारबाट लौरो घुसाएर सख्त घाइते बनाएका थिए । चिकित्सकका अनुसार गीताको यौनाङ्गको चार तह च्यातिएको थियो । उनमा दिसा पिसाब नरोकिने फिस्टुला, आन्द्रामा समस्या लगायतका स्वास्थ्य जटिलता उत्पन्न भएको थियो । घटनालगत्तै प्रहरीले उनका श्रीमान् रामचन्द्र लाई पक्राउ गरेको थियो ।
मृतक महिलाको तर्फबाट कसैले पनि श्रीमान् विरुद्ध जाहेरी नदिएपछि प्रहरीले आफैले प्रतिवेदनको आधारमा ज्यान मार्ने उद्योग र जवरजस्ती करणी कसुरमा मुद्दा दर्ता गरेर कारवाही प्रक्रिया अघि बढाएको हो ।