काठमाडौं । आइतबारदेखि बेपत्ता रहेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । दुर्घटनाग्रस्त अवस्थामा आज बिहान मुस्ताङको थुसाङ २ मा यार्सा खोज्न जाने टोलीले जहाज देखेका थिए ।
अहिले उक्त स्थानमा नेपाली सेना र प्रहरीको टोली पुगेको छ ।
नेपाली सेनाका प्रमुख सेनानी प्रेम पौडेलले दिएको जानकारीअनुसार अहिले त्यहाँ जहाजसहित यात्रुको अवस्था क्षतविक्षत रहेको छ ।
“जिवित हुने सम्भावना छैन,” उनले भने । उनका अनुसार बाक्लो कुहिरोका कारण सबै टोली अझै त्यहाँ पुग्न सकेको छैन ।
, सेना र प्रहरीको टोलीले अहिले शव संकलन गरिरहेको उनले जानकारी दिए ।
घटनास्थल पुगेका मुस्ताङका व्यवसायी इन्द्रसिंह शेरचनका अनुसार अहिले उद्धारकर्ताहरु त्यहाँ पुगेका छन् ।
सेना र फिस्टेलको हेलिकोप्टर पनि पुगेको छ ।
“शवहरु एकैठाउँमा छैनन्,” उनले भने, “१०–१२ वटा शव देखिएका छन् । अरु खोजी हुँदैछ । ठाउँ निकै अप्ठेरो छ । शवहरु छरिएको अवस्थामा फेला परेका छन् ।”