चितवन । भरतपुर महानगरपालिकाको मेयर पदमा सत्तारूढ गठबन्धनको तर्फाबाट उमेद्वार नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल विजयी हुनु भएको छ । स्थानीय निवार्चनको अन्तिम नतिजा अनुसार दाहालले नेकपा एमालेका उमेद्वार विजय सुवेदीलाई १२ हजार ४ सय ४९ मतान्तरले पराजित गर्नुभएको हो । दाहालले ५२ हजार ३० मत प्राप्त गर्नुभएको छ भने सुबेदीले ३९ हजार ५८१ मत प्राप्त गर्नुभएको थियो । यस्तै स्वतन्त्र उमेद्वार जगन्नाथ पौडेलले १४हजार ७२८ मत प्राप्त गर्नुभएको छ । यसअघि २०७४ सालको स्थानीय निर्वाचनमा पनि दाहालले भरतपुर महानगरपालिकाको प्रमुख पदमा विजयी हुनु भएको थियो ।
उपमेयरमा सत्तारूढ गठबन्धनको तर्फाबाट नेपाली काँग्रेसका चित्रसेन अधिकारी बिजयी हुनु भएको छ । अधिकारीले एमालेसंँगको तालमेलबाट उमेद्वार बन्नु भएकी राप्रपाकी हिमला गुरूङलाई २२ हजार १ सय ९१ को फराकिलो मतान्तरले पराजित गर्नुभएको हो । अधिकारीले ५२ हजार ८०३ मत प्राप्त गर्नुभएको छ भने गुरुङ्गले ३० हजार ६१२ मत प्राप्त गर्नुभएको हो ।
महानगरपालिकाको २९ वटा वडाहरुमध्ये नेपाली काँग्रेसले १६ वटा वडामा जित हांँसिल गरेको छ भने नेकपा एमालेले ६ वटा वडामा जित प्राप्त गरेको छ । यस्तै नेकपा माओवादी केन्द्रले ३ वटा वडा तथा नेकपा (एकीकृत समाजवादी)ले ३ वटा वडा जित्न सफल भएको छ । वडा नम्बर २५ मा भने स्वतन्त्र उम्मेदवार छबिलाल सापकोटा विजयी हुनु भएको छ ।