चितवन – राष्ट्रिय महिला लिग फुटबलमा सशस्त्र प्रहरी बल (एपिएफ) ले अपराजित यात्रा कायमै राखेको छ ।
आज (आइतबार) भएको पहिलो खेलमा एपिएफले धनगढीलाई ९–१ को फराकिलो अन्तरले पराजित गरेको हो । एपिएफको जितमा सावित्रा भण्डारी साम्बाले ४, मन्जली कुमारी योन्जनले २ तथा अनिता केसी, सबिता राना मगर र रेनुका नगरकोटीले समान एक–एक गोल गरे ।
एपिएफले खेलको तेस्रो मिनेटमा नै अग्रता लियो । एपिएफका लागि साम्बाले पहिलो गोल गरिन् । १९ औं मिनेटमा साम्बाले व्यक्तिगत दोस्रो गोल गरेपछि एपिएफले अग्रता दोब्बर बनायो ।
२५ औं मिनेटमा मन्जलीले गोल गरिन् । ३० औं मिनेटमा अनिता केसीले गोल गरेपछि एपिएफले ४–० को अग्रता लियो । ३८ औं मिनेटमा साम्बाले हृयाट्रिक गरेपछि एपिएफले ५–० को अग्रता लियो । ४३ औं मिनेटमा मन्जलीले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा एपिएफले ६–० को अग्रता लियो ।
दोस्रो हाफमा मैदान प्रवेश गरेकी सबिताले ६९ औं मिनेटमा गोल गर्दै एपिएफको अग्रता लम्बाईन्। ७४ औं मिनेटमा साम्बाले व्यक्तिगत चौथो गोल गरेपछि एपिएफले ८–० को अग्रता लियो । ९० औं मिनेटमा रेनुकाले एपिएफका लागि नवौं गोल गरिन् । अतिरिक्त समयमा धनगढीकी कप्तान चन्द्राले एक गोल फर्काईन् ।
खेलको प्लेयर अफ दि म्याच एपिएफकी मन्जली घोषित भईन् । अपराजित रहेको आर्मीको यी छैटौं जित हो । जारी लिगमा एपिएफ एक मात्र शतप्रतिशत नतिजा निकाल्ने टिम हो । ६ खेल खेलेको एपिएफ १८ अंकका साथ तालिकाको शिर्ष स्थानमा छ । धनगढीको भने समान खेलबाट ३ अंक मात्रै छ ।
यस्तै आजको दोस्रो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले विराटनगरविरुद्ध सहज जित निकालेको छ । आर्मीले विराटनगरलाई ३–० ले पराजित गरेको हो ।
आर्मीको जितमा शर्मिला थापा मगर, दिपा राई र अमिशा कार्कीले गोल गरे । पहिलो हाफमा आर्मी १–० ले अघि रह्यो । १८ औं मिनेटमा शर्मिलाले गोल गर्दै पहिलो हाफमा आर्मीलाई १–० को अग्रता दिलाईन् ।
७८ औं मिनेटमा दिपाले गोल गरेपछि आर्मीले अग्रता दोब्बर बनायो । लगत्तै ८० औं मिनेटमा अमिशाले गोल गरेपछि आर्मी ३–० ले विजयी भयो । खेलको प्लेयर अद दि म्याच आर्मीकी दिपा राई घोषित भईन् ।
यो जितपछि आर्मी तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । ६ खेल खेलेको आर्मीको ४ जित र २ हारबाट १२ अंक भएको छ । समान खेलबाट ९ अंक नै बनाएको विराटनगर तालिकाको चौथो स्थानमा झरेको छ ।
लिगमा मंगलबार दुई खेल हुनेछ । पहिलो खेल दिउँसो १ः१५ बजे धनगढी र नेपाल पुलिस क्लबबीच हुनेछ भने दोस्रो खेल आर्मी र चन्द्रपुरबीच दिउँसो ४ः१५ बजे हुनेछ ।