रत्ननगर । रत्ननगर नगरपालिका वडा नं ६ अन्तर्गत रहेको बछौलीचोकमा हलगोरुको मुर्ति अनाबरण गरिएको छ । निकटमा रहेको सौराहामा पर्यटन प्रर्वद्धन तथा आदिवासी थारु लगायत अन्य समुदायका किसानहरुले परम्पराकाल देखि प्रयोग गर्दै आएको हलगोरुको मुर्ति स्थापना गरी अनाबरण गरिएको हो । वडा कार्यालयको तीन लाख,नगरपालिकाको एक लाख तथा अन्य श्रमदान गरी ६ लाख ८८ हजारको लगानीमा हलगोरुको मुर्ति निर्माण गरिएको उपभोक्ता समितिका सचिव हठनराम चौधरीले जानकारी दिए । रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडी र वडाध्यक्ष बलराम दाहालले सयुक्त रुपमा मुर्तिको अनाबरण गरेका हुन । मुर्तिमा दुई वटा गोरु,हलो,जुवा सहित मान्छेले हलो जोतिरहेको देखाइएको छ ।
बछौली थारु समुदायको बाक्लो बसोबास रहेको गाउँ हो । बछौली थारु बस्तीमा बहुचर्चित थारु संस्कृतिक संग्रहालय समेत रहेको छ । संग्रहालय रहेको ठाँउबाट तीन सय मिटर पश्चिममा रहेको बछौलीचोकमा आदिबासी थारु समुदायका संस्कृति झल्किन हलगोरुको मुर्ति अनाबरण गरिएको वडाध्यक्ष दाहालले बताए । कार्यक्रमकी प्रमुख अतिथि उपमेयर दुवाडीले सौराहाको सहिचानको लागि तीन वटा चोकमा हात्ती र गैंडाको मुर्ति बनाएको भन्दै बछौलीबासीको पहिचानको लागि हलगोरुको मुर्ति बनाउनु उपयुक्त निर्णय भएको बताइन ।
सौराहा नजिक रहेका बस्ती बस्ती र चोक चोक चिनाउन आवश्यक छ उनले भनिन् हल गोरुको मुर्तिले बछौलीचोक र यस आसपासका क्षेत्रको पहिचान गराउने छ । सामाजिक अगुवा तथा मुर्ति निर्माणका परिकल्पनाकार लोकराज भूषालले आदिबासी थारु समुदायको पहिचान र सौराहाको पर्यटन प्रर्बद्धनको लागि बछौलीचोकम हलगोरुको मुर्ति निर्माण गरेको बताए ।
हलगोरुको मुर्ति निर्माण उपभोक्ता समितिका अध्यक्ष सिखन चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका वडा कमिटी अध्यक्ष रामचन्द्र सापकोटा,थारु संस्कृतिक संग्रहालयका निर्वतमान अध्यक्ष वीरेन्द्र महतो,रेवान महिला समुहकी अध्यक्ष लक्ष्मी विडारी,वडा सचिव रमेश ताम्राकार लगायतले मन्तव्य राखेका थिए ।