चितवन । राष्ट्रिय महिला लिगमा एपिएफ एफसीले फराकिलो जित हात पारेको छ । आज (शनिबार)को पहिलो खेलमा एपिएफले चन्द्रपुरलाई ८–१ ले पराजित गरेको हो ।
एपिएफको जितमा सावित्रा भण्डारीले हृयाट्रिक गरिन् भने मन्जली कुमारी योञ्जनले २ तथा अनिता केसी, अनिता बस्नेत र अनु लामाले समान एक–एक गोल गरे ।
भरतपुर –१९ शारदानगर माविको मैदानमा खेलको पहिलो हाफमा नै एपिएफले चन्द्रपुरको पोष्टमा ५ गोल ग¥यो । खेल सुरू भएको चौथो मिनेटमा नै अनिता केसीले गोल गर्दै एपिएफलाई अग्रता दिलाईन् ।
१५ औं मिनेटमा मन्जलीले एपिएफलाई दोहोरो अग्रता दिलाईन् । लगत्तै १६ औं मिनेटमा अनिता बस्नेतले एपिएफका लागि तेस्रो गोल गरिन्। २३ औं मिनेटमा साम्बाले गोल गर्दै एपिएफको अग्रता लम्बाईन् । ३२ औं मिनेटमा मन्जलीले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा एपिएफले ५–० को अग्रता लियो ।
४९ औं मिनेटमा साम्बाले व्यक्तिगत दोस्रो गोल गरेपछि एपिएफले ६–० को अग्रता लियो । ७० औं मिनेटमा अनुले गोल गर्दै एपिएफलाई ७–० को अग्रता दिलाईन् । ८१ औं मिनेटमा चन्द्रपुरले गोल फर्कायो । चन्द्रपुरकी मिडफिल्डर सुमित्राले अगाडि बढेकी एपिएफकी गोलकिपर सावित्री किसानलाई बिट गर्दै गोल गरिन् । ९० औं मिनेटमा साम्बाले हृयाट्रिक गरेपछि एपिएफ ८–१ को फराकिलो अन्तरले विजयी भयो । खेलको प्लेयर अफ दि म्याच एपिएफकी रेनुका नगरकोटी भईन् ।
यो जितसँगै एपिएफ चार खेलबाट १२ अंक बटुल्दै तालिकाको शिर्ष स्थानमा फर्किएको छ । समान खेल खेलेको चन्द्रपुर एक अंकसहित पुछारबाट दोस्रो स्थानमा छ ।
यस्तै आजको दोस्रो खेलमा रश्मी घिसिङले हृयाट्रिक गरेपछि त्रिभुवन आर्मी फुटबल क्लबले महत्त्वपूर्ण ३ अंक बटुलेको छ । आर्मीले धनगढीलाई ६–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो ।
एकतर्फी खेलमा आर्मीलाई फराकिलो जित दिलाउन रश्मीले हृयाट्रिकसँगै बिमला चौधरी, अमिशा कार्की र कुशुम खतिवडाले समान एक–एक गोल गरे ।
खेलको ३५औं मिनेटमा आर्मीले पेनाल्टी पायो । धनगढीकी डिफेन्डर निलम सिंहले डिबक्स भित्र ह्याण्ड गरेपछि रेफ्रीले आर्मीलाई पेनाल्टी दिएका थिए । प्राप्त अवसरलाई सदुपयोग गर्दै रश्मीले बललाई जाली चुमाईन् । पहिलो हाफको अन्तिम मिनेटमा बिमला चौधरीले गोल गर्दै आर्मीलाई दोहोरो अग्रता दिलाईन् । पहिलो हाफमा नै थप गरिएको अतिरिक्त समयमा रश्मीले व्यक्तिगत दोस्रो गोल गरेपछि आर्मीले ३–० को अग्रता लियो ।
५८ औं मिनेटमा आर्मीकी रश्मीले हृयाट्रिक पूरा गरिन् । ८१ औं मिनेटमा अमिशाले गोल गर्दै आर्मीको अग्रता लम्बाईन् । ८८ औं मिनेटमा कुशुमले गोल गर्दै आर्मीलाई ६–० को जित दिलाइन् । आर्मीकी रश्मी प्लेयर अफ दि म्याच भईन् ।
यो जितपछि आर्मी ४ खेलबाट ६ अंकसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । समान खेल खेलेको धनगढी भने शिर्षबाट दोस्रो स्थानमा झरेको छ । जारी लिगमा धनगढीको यो पहिलो हार हो । धनगढीको ४ खेलबाट ९ अंक भएको छ ।
लिगमा आइतबार पनि दुई खेल हुनेछ । पहिलो खेल दिउँसो १ः१५ बजे नेपाल पुलिस क्लब र वाकिङबीच हुनेछ । यस्तै दिउँसो ४ः१५ बजे विराटनगर र ललितपुरबीच हुनेछ ।