चितवन । स्वर्गीय दिलिप राणा स्मृति तेस्रो अन्तर्राष्ट्रिय भेटेरान कप फुटबल चैत १९ गतेदेखि हुने भएको छ । चितवन भेटेरान फुटबल क्लबको आयोजनामा हुने प्रतियोगिता भरतपुर –७ स्थित कृष्णपुर रंगशालामा २४ गतेसम्म चल्नेछ ।
क्लबले यस पटक स्व. राणा स्मृतिको नाममा प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा नेपाल र भारतका १६ क्लब सहभागी हुनेछन् । सहभागी टिमलाई दुई समूहमा बिभाजन गरिएको छ ।
समूह ए मा चितवन भेटेरान रातो, कैलाली भेटेरान, बौद्ध भेटेरान फुटबल क्लब काठमाडौं, सिमरा भेटेरान, ठमेल ११ भेटेरान काठमाडौं, अभिषेक चर्च रजहर, एनआर टी काठमाडौं र हेटौंडा भेटेरान रहेका छन् ।
समूह बीु मा साबिक विजेता काल भैरव भेटेरान हेटौंडा सहित फ्रीडम फाइटर भेटेरान काठमाडौं, बगरभाई खलक भेटेरान पोखरा, कलकत्ता भेटेरान भारत, सानो गौचरन भेटेरान काठमाडौं, बुटवल उपमहानगरपालिका भेटेरान, चितवन भेटेरान निलो र नवलपुर भेटेरान रहेका छन् ।
प्रतियोगिता यस पटक नाइन ए साइड हुनेछ । हरेकदिन बिहान २ र दिउँसो २ गरी चार खेल हुनेछ । उद्घाटनको दिनभने एक खेलमात्र हुनेछ । उद्घाटन खेल काल भैरव हेटौंडा र फ्रीडम फाइटर काठमाडौं बीच दिउँसो ३ बजे हुनेछ ।
विजेताले एक लाख ५१ हजार प्राप्त गर्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्ने क्लबका अध्यक्ष रविन्द्रकुमार श्रेष्ठले जानकारी दिए । प्रतियोगिता भरको सर्वोकृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर र सर्वाधिक गोलकर्ताले पाँच÷पाँचहजार प्राप्त गर्नेछन् । हरेक खेलको म्यान अफ दि म्याचले तीन–तीन हजार प्राप्त गर्नेछन् ।
प्रतियोगिता सम्पन्न गर्न ११ लाख खर्च हुने संयोजक भरत सुवेदीले जानकारी दिए । किया मोटर्स प्रतियोगिताको मुख्य प्रायोजक हो भने भरतपुर महानगरपालिका सह आयोजक रहेको छ । गतवर्ष नै हुनुपर्ने प्रतियोगिता कोभिडका कारण यस वर्ष आयोजना गरिएको हो । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको सुवेदीको भनाई छ ।