चितवन । चितवनमा महसंकलन तथा मौरी सम्बन्धी सूचना केन्द्र भवनको शिलायान्स गरिएको छ । वागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका राज्यमन्त्री सन्त बहादुर चेपाङ्गले आइतबार भरतपुर महानगरपालिका वडा नम्बर १२ स्थित गोन्द्राङ्गमा उक्त भवनको शिलायान्स गरेका हुन् । मौरीपालक महासंघको केन्द्रिय कार्यालय समेत रहने गरी तीनतले भवनको शिलायान्स गरिएको महासंघले जानकारी दिएको छ ।
शिलायान्स कार्यक्रमपछि बोल्दै राज्यमन्त्री चेपाङ्गले राज्यलाई महमा आत्मनिर्भर बनाउन उन्मुख किसानहरुको यो भवनले थप व्यवसायिक बनाउन मदत पुग्ने बताए । शिलायान्स गरेर निर्माण नगर्ने परिपाटी नेपालमा रहेको भन्दै यो भवन समयमै बनाउन आग्रह गरे । भवन निर्माणमा कठिनाई परे प्रदेश सरकारले आवश्यक रकम पनि छिट्टै विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे । हाल उक्त भवनको गत बर्षनै डिपिआर काम सकिसकिएको छ । कुल १ करोड ४० लाख अनुमान लागत लाग्ने उक्त भवनको लागि प्रदेश सरकारले ३० लाख र भरतपुर महानगरपालिकाले १५ लाख रकम दिईसकेको छ ।
ज्येष्ठ १५ भित्र आधा काम सकिए थप रकम प्रदेश सरकारले उपलब्ध गर्ने प्रतिबद्धता चेपाङ्गले गरेका हुन् । उनले प्रदेश सरकारले मौरी बीमा तथा यस सम्बन्धी बिशेष कार्यक्रम समेत ल्याउन लागिएको उनले जानकारी दिए ।
कार्यक्रममा बोल्दै पूर्व वाग्मती प्रदेश मन्त्री विजय सुबेदीले मह दिवसकै अवसर पारेर महासंघले भवन शिलायन्स गरेको भन्दै खेर जाने फलफूलको रसबाट मह उत्पादन गरेर स्वस्थ गुणस्तरीय मह उत्पादनमा नेपाली किसानले सहयोग गरेको बताए । मह आयात कम गर्न नेपाली किसानको भूमिका उत्तिकै रहेको भन्दै मह उत्पादनको जिम्मा मात्र किसानलाई दिनु पर्ने बताए । ‘व्यवसायिक मह उत्पादन र गुणस्तरीय उत्पादनको लागि मात्र किसानलाई जिम्मा दिनुपर्दछ सुबेदी भने, प्रशोधन र बजारीकरणको जिम्मा राज्यले लिनुपर्छ ।’ मह उत्पादनमा नेपालमा प्रशस्त संभावना भएको भन्दै उनले रोयल जेली लगायत मौरीबाट अन्य औषधीजन्य बस्तु समेत उत्पादन गर्न सकिने उनको भनाई थियो ।
महासंघका केन्द्रिय अध्यक्ष शिवप्रसाद शर्माले केही बर्ष अगाडि किसानहरुकै सक्रियतामा १ कठ्ठा ५ धुर जग्गा किनेको जानकारी दिदै उपलब्ध रकमले छिटैने काम शुरु गरिने बताए । मह उत्पादन व्यवस्थित, मर्यादित र एकद्धार प्रणालीबाट विक्रि वितरण गर्ने र यस सम्बन्धी सूचना ,जानकारी , दिने उद्धेश्यसहित भवन निर्माणको आवश्यकता रहेको उनको भनाई थियो । उनका अनुसार उक्त भवनको पहिलो तल्लामा देशभरीकै किसानको मह संकलन केन्द्र, दोस्रो तल्लामा मौरी सूचना केन्द्र तथा प्रशासनिक भवन र तेस्रो तल्लामा तालिम केन्द्र तथा सभा हलको निर्माण गरिने छ ।
भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाहले देशकै केन्द्र भरतपुरमा यो भवन बन्न गईरहेको भन्दै आवश्यक सहयोग गर्ने बचन बद्धता व्यक्त गरिन। नेपालमा जल जमीन र जंगल प्रशस्त भएकोले मौरी किसानले अब आत्मनिर्भरमुखी नभई निर्यातमुखी भएर महको उत्पादन बढाउनु पर्नेमा जोड दिईन । सो अवसरमा महासंघका पूर्व अध्यक्ष राजेन्द्र गौतम, पूर्व कोषाध्यक्ष गीता देवकोटाले मौरी किसानका समस्या बारे आफ्नो धारणा राखेका थिए ।
अन्य किसानले नक्कली महले नेपाली उत्पादन र वितरणमा असर परेको , चरनका अभावका कारण मौरीको विस्तार गर्न नसकिएको र प्रशासनका कारण मौरी चराउन स्थानन्तरण गर्दा झमेला बेहोर्नु परेको भन्दै एम्बुलेस सहितको सुविधा दिनुपर्ने भन्दै गुनासो गरेका थिए ।