चितवन । यहाँ भएको प्रथम भरतपुर मेयर कप तीन दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि चितवनले हात पारेको छ । दुई सय २३ रनको लक्ष्य पछ्याएको मकवानपुर आज अन्तिम दिन ३७ ओभरमा १४४ रनमै अलआउट भएपछि चितवन ७८ रनले विजयी भएको हो ।
दोस्रो इनिङमा मकवानपुरका लागि आकाश घिमिरेले ४७ र गौरव खड्काले ३४ रन बनाए । चितवनका लागि गौतम केसीले ११ ओभरमा ४७ रन खर्चिदै छ विकेट लिए भने कृजन गुरुङले १५ ओभरमा ४४ रन खर्चिदै तीन विकेट लिए ।
पहिलो इनिङमा चितवनले ५५ ओभरमा नौ विकेटको क्षतिमा १७६ रन बनाउँदै इनिङ समाप्तीको घोषणा गरेको थियो । उसका लागि कप्तान दिपेश श्रेष्ठले ६७ र गौतम केसीले ३५ रन बनाएका थिए ।
मकवानपुरका लागि कप्तान रामनरेश गिरीले १३ ओभरमा ३३ रन खर्चिदै पाँच विकेट लिए भने सुर्वण भट्टले १३ ओभर ३३ रन खर्चिदै तीन विकेट लिए । पहिलो इनिङमा मकवानपुर १३८ रनमा अलआउट भएको थियो । उसका लागि रामनरेश गिरीले ३१ र गौरव खड्काले २९ रन बनाएका थिए । पहिलो इनिङमा चितवनका लागि कृजन गुरुङले १४ ओभरमा २८ रन खर्चिएर पाँच विकेट लिए भने गौतम केसीले १०.४ ओभरमा दुई विकेट लिए ।
प्रतियोगितामा मकवानपुरका रामनरेश गिरीले सर्वाधिक ११ विकेट लिए भने चितवनका गौतम केसीले आठ विकेट लिदै प्लेयर अफ दि म्याच घोषित भए । चितवनका कृजन गुरुङले आठ विकेट लिए भने चितवनका प्रतिक श्रेष्ठले प्रतियोगितामा सर्वाधिक ९७ रन प्रहार गरे ।
प्रतियोगिताका विजेता चितवन र उपविजेता मकवानपुरलाई समापन समारोहका भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरीले ट्रफी, मेडल र नगद पुरस्कार प्रदान गर्नुभयो । सो क्रममा बोल्दै उहाँले यस प्रकारको प्रतियोगिताले खेलाडीलाई उत्कृष्ट प्रदर्शन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले महानगरपालिकाले खेलकुदलाई प्राथमिकतामा राखेको भन्दै आगामी दिनमा पनि यस्तै सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रम नारायणी एडर्भटाइजिङ एण्ड इभेन्ट्स प्रा.लि.का अध्यक्ष राजु चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो । प्रतियोगिताको प्रवद्र्धक संस्थामा भरतपुर महानगरपालिका रहेको थियो भने चितवन जिल्ला क्रिकेट सङ्घले समन्वय गरेको थियो ।