चितवन । दोस्रो राष्ट्रिय महिला लिगको खेलमा सशस्त्र प्रहरी बल (एपिएफ) एफसी विजयी भएको छ । चितवनको भरतपुरमा आज (बिहीबार) बाट सुरू भएको महिला लिगको पहिलो खेलमा साविक बिजेता एपिएफले त्रिभुवन आर्मीलाई २–१ ले पराजित ग¥यो ।
एपिएफको जितमा कप्तान रेनुका नगरकोटी र अनिता बस्नेतले गोल गरिन् । आर्मीको तर्फबाट रश्मि गुरुङले एक गोल गरिन् । पहिलो हाफ फितलो भएको खेलमा तिनै गोल दोस्रो हाफमा भएको थियो ।
पहिलो हाफमा दुबै टोलीले गोलको अवसर सृजना गर्न सकेनन् । दोस्रो हाफमा दुबै टोलीले केही आक्रामक खेल प्रस्तुत गरेको थियो । ५२ औं मिनेटमा एपिएफकी डिफेन्डर मनमाया लिम्बुले डिबक्समा ह्याण्ड गरेपछि रेफ्रीले आर्मीलाई पेनाल्टी दिएका थिए । प्राप्त अवसरको सदुपयोग गर्दै रश्मीले बललाई जाली चुमाइन् ।
तर आर्मीको अग्रता पाँच मिनेट पनि टिकेन । ५७ औं मिनेटमा एपिएफकी कप्तान रेनुकाले बराबरी गोल फर्काइन् । रेनुकाले डिबक्स बाहिरबाट गरेको प्रहार बचाउने आर्मीकी गोलरक्षक अन्जना राना मगरको प्रयास असफल भयो ।
५९ औं मिनेटमा एपिएफकी स्टार फर्वाड सावित्रा भण्डारी (साम्बा) मैदान प्रवेश गरिन् । ११ महिनापछि खेलमा फर्किएकी साम्बाले आर्मीका डिफेन्डरलाई व्यस्त बनाईन् । ८१ औं मिनेटमा एपिएफले अग्रता लियो । फर्वाड अनिता बस्नेतले फ्री किकमा गोल गर्दै एपिएफलाई अग्रता दिलाईन् ।
त्यसपछि खेलमा विवाद भयो । अनिताको फ्री किक गोलकिपर अन्जनाले रोके पनि रेफ्रीले गोल दिएको भन्दै आर्मीले मैदान छोडेपछि केही बेर खेल रोकियो । एन्फासँगको छलफलपछि आर्मी खेल्न सहमत भयो । बाँकी समयमा थप गोल हुन सकेन र एपिएफ २–१ ले विजयी भयो । खेलको प्लेयर अफ दि म्याच एपिएफकी कप्तान रेनुका भईन् ।
लिगमा भोलि (शुक्रवार) तीन खेल हुनेछ । पहिलो खेल बिहान ९ बजे वालिङ र धनगढीबीच हुनेछ । यस्तै दोस्रो खेल दिउँसो २ बजे चन्द्रपुर र ललितपुर तथा तेस्रो खेल दिउँसो ४ बजे विराटनगर र नेपाल पुलिस क्लबबीच हुनेछ ।
यस पटक लिगको पहिलो चरणका खेलहरु चितवनको भरतपुरमा आयोजना गरिएको हो । डबल राउण्ड एण्ड रोबिनको आधारमा हुने लिगको पहिलो चरणका २८ खेलहरु भरतपुर १९ शारदानगर स्थित खेल मैदानमा हुनेछ । पहिलो चरणका खेलहरु चैत ३० गतेसम्म हुनेछ । दोस्रो चरणका २८ खेल विराटनगरमा हुनेछ ।
लिग विजेताले २० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले १० लाख पाउनेछ । तेस्रो हुने टोलीले पाँच लाख तथा चौथोले तीन लाख प्राप्त गर्ने एन्फाले जानकारी दिएको छ । यस्तै फेयर प्ले टिमले एक लाख पाउनेछ । लिगको सर्वोकृष्ट खेलाडीले स्कुटर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट स्ट्राईकरले समान ५०–५० हजार तथा उदयमान खेलाडीले २५ हजार प्राप्त गर्नेछन् । हरेक खेलको प्लयर अफ दि म्याचले दश हजार प्राप्त गर्नेछन् ।