चितवन । चितवनमा पाँचौ राष्ट्रिय कृषि यान्त्रिक प्रदर्शनी चितवनमा हुने भएको छ । चितवन अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी परिसरमा चैत्र ९ देखि १२ गते सम्म कृषि यान्त्रिक प्रदर्शनी हुने भएको हो ।
नेपाल कृषि मेसिनेरी व्यवसायी संघको आयोजनामा प्रदर्शनी हुन लागेको हो । बिहीबार आयोजित पत्रकार भेटघाट क्रममा कृषिलाई यान्त्रिकिकरण र प्रविधिमैत्री गर्ने उद्धेश्य सहित प्रर्दशनी गर्न लागिएको संघले जानकारी दिएको छ ।
सो अवसरमा बोल्दै संघका अध्यक्ष खोजराज कटुवालले कृषि कर्जा मेला र मेड इन नेपालको स्टल प्रदर्शनीको मुख्य आकर्षणको रुपमा रहने बताए । कृषि कर्जा विश्वमा नै दोस्रो पटक तथा एसियामा नै पहिलो पटक हुन लागेको कटुवालको भनाई छ ।
प्रदर्शनी कृषि यन्त्र, उपकरण र औजार मा बढी केन्द्रित हुने उनले बताए । प्रर्दशनीमा एक सय ५० भन्दा बढी स्टलहरु रहनेछ । प्रदर्शनीमा नेपालमा उत्पादित सबै कृषि यन्त्र तथा मेसीनरी सामाग्रीहरु राखिने छ । उनका अनुसार विश्वमा कृषि क्षेत्रमा प्रयोग हुँदै आएका यन्त्रहरु समेत राखिनेछ ।
नेपालमा नै उत्पादन हुने कृषि यन्त्रहरु लोप हुँदै गएकोले यो प्रदर्शनीले त्यस्ता यन्त्र तथा औजार प्रवर्द्धनमा सहयोग मिल्ने उनको भनाइ थियो । पहिलो पटक प्रदर्शनीमा मेड इन नेपालको छुट्टै परिसरको व्यवस्था गरिएको उनले जानकारी दिए ।
यस्तै सरकारले कृषि कर्जाका लागि कस्ता नीति अख्तियार गरेर अघि बढ्नुपर्छ भन्ने बिषयमा पनि छलफल हुने आर एण्ड डि इनोभेटिभ सोलुसनकी सिईओ सुनिता नेमाफुकीले बताईन् । प्रदर्शनीको कृषि कर्जामा सहभागी हुनका लागि बिभिन्न १० वटा बैंकबाट सिईओहरु सहभागिता रहने समेत उनले जानकारी दिईन् ।