चितवन । चितवन अटो मेकानिकल व्यवसायी संघले रजतबर्ष पुगेको अवसरमा चितवनमा चल्ने गाडीहरुको यान्त्रिक परीक्षण तथा ट्राफिक सचेतना कार्यक्रम गरेको छ । सडकमा हुने दुर्घटना यान्त्रिक गढबडीका कारण हुने भएकोले यस कार्यलाई अघि सारेको हो । संघको आयोजना र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको संयुक्त आयोजनामा आइतबार रामनगरमा विभिन्न प्रकृतिका गाडीहरुको यान्त्रिक परीक्षण तथा चालकहरुलाई सचेतना गराईएको थियो । संघका वरिष्ठ उपाध्यक्ष विनोद ढकालले यान्त्रिक गढबढीका कारण सडक दुर्घटना बढेको भन्दै न्यूनिकरणका लागि यो कार्यक्रम गरिएको योगराज ढकालले बताउनु भयो ।
उहांँका अनुसार राजमार्गमा गुड्ने यात्रुबहाक तथा मालबहाक गाडीहरुको ब्रेक, टायर, लाइट, नम्बर प्लेट , ट्राइरेड,बुस , साईलेन्सर लगायत अन्य यान्त्रिक गढबढी परीक्षण गरिएको थियो । सो परीक्षण अभियानमा दर्जनौं गाडीहरुलाई रोकेर गाडीहरुको यान्त्रिक परीक्षण गर्नुका साथै चालकहरुलाई सचेत गराईएको उहांँले बताउनु भयो ।
चेकजांँचका क्रममा ३१ वटा गाडीहरुमा यान्त्रिक गढबढी तथा समस्या भेटिएको थियो ।
सो क्रममा बोल्दै जिल्ला ट्राफिक प्रहरी प्रमुख भगवान थापाले यो कार्यले जिल्लामा हुने बढ्दो सवारी दुर्घटना न्युनिकरणमा सहयोग पुग्ने बताउनु भयो । चितवनको राजमार्गमा हुने दुर्घटनाका कारण धेरैले ज्यान गुमाउनु परेकाले सवारी दुर्घटना हुन नदिनका लागि राजमार्गमा यान्त्रिक परिक्षण गरिएको उहांँको भनाई थियो । यसरी परिक्षण गर्दा सवारी साधन कस्तो स्थितिमा छ, र त्यसको अवस्था थाहा हुने र तुरुन्तै मर्मत गर्न पठाईने भएकाले यसबाट दुर्घटनाको जोखिम कम हुने थापाले बताउनु भयो । बीच बाटोमा सवारी बिग्रने वा दुर्घटना हुने जोखिम कम गर्न र चालकलाई सचेतना दिनुनै आफुहरुको मुल उदेश्य रहेको उहांँले बताउनुभयो ।
यसरी राजमार्गमा यान्त्रिक परिक्षण गर्दा आफुहरुलाई पनि यसले धेरै फाईदा पुगेको चालक किसोर थापाले बताउनु भयो । यस्तो कार्यक्रम हरेक दिन हुनु पर्ने उहांँको भनाई छ । सो कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष सहित संघका पदाधिकारी, सदस्य एवं इञ्जिन मेकानिक, ईलेक्ट्रिक मेकानिक,फ्युल कम्पनी मेकानिक लगायत ट्राफिक प्रहरीको सहभागिता रहेको थियो ।