किभ । युक्रेनमा युद्ध सुरु भएसँगै राजधानी किभको चिडियाघरबाट ६ वटा सिंह, ६ बाघ, दुईवटा वन बिरालोसहित जङ्गली अफ्रिकन कुकुरजस्ता ८० जीवजन्तुको उद्धार गरी सुरक्षित रूपमा पोल्यान्ड पुर्याइएको छ ।
ती जीवजन्तुलाई किभ नजिकैको विमानस्थल क्षेत्रबाट उद्धार गरिएको हो । तर, रिपोर्टकाअनुसार अझै हजारौँ जीवजन्तु चिडियाघरभित्रै फसेका छन् ।
चिडियाघरकाअनुसार हाल त्यहाँ ४ हजार वन्यजन्तु छन् । जहाँ अब १० दिनलाई पुग्ने खानेकुरा मात्र छ ।
त्यहाँकी सञ्चालक नतालिया पोपोभाकाअनुसार ती जीवजन्तुहरू कि बमबारी कि भोकमरीले मर्ने खतरामा छन् ।
पोजनाम चिडियाघरबाट पश्चिमी पोल्यान्डसम्मको उद्धार मिसनमा उनले कठिनाइकाबीच जीवित रहने सम्भावना भएका जीवजन्तुहरू मात्र आफूसँग लैजान बाध्य भएको बताइन् ।
उत्तरपश्चिम युक्रेनमा रुसी आक्रमणका कारण पुगेको क्षति यति नराम्रो अवस्थामा थियो कि पोलिस चिडियाघरसम्मको उनीहरूको यात्रा एकदमै लम्बिन बन्न पुगेको उद्धार टोलीले जनाएको छ ।
बाटोका बीचैमा विस्फोटन हुन थालेपछि आफूहरू धेरैपटक फर्किनुपरेको उनीहरूको भनाइ छ । त्यस्तै जताततै प्वाल र ठुल्ठुला खाल्डा भएका कारण जीवजन्तुले भरिएको ठूलो कार्गो लिएर यात्रा गर्न असम्भवसमान भएको पनि उनीहरूले बताए । तर पनि आफूहरूले कुनैपनि हालतमा ती जनावरलाई बचाउनैपर्ने सोच बनाएर धेरैपटकको प्रयासमा गन्तव्यसम्म पुर्याएको मालगोजाटा चोडिला बताउँछिन् ।
उनकाअनुसार बाघका ससाना बच्चासहित उक्त कठिन यात्रालाई सबै जीवले सफलतापूर्वक पार गर्न सके ।
यसमा उनीहरूलाई १७ वर्षीय बघिनीको सबैभन्दा बढी चिन्ता लागेको थियो, जो एकदमै थकित देखिएको थियो । दुवै चिडियाघरलाई वन्यजन्तुसम्बन्धी कुनै अनुभव नभएका तीन पुरुषहरूले पनि मद्दत गरेका थिए । अहिले भने उनीहरू आफ्ना सेनालाई सघाउन राजधानी किभमा गइसकेको उनले बताइन् ।
हाल बेल्जियन चिडियाखानाले त्यहाँको सिंह र अफ्रिकी कुकुरलाई राख्ने प्रस्ताव गरिसकेको छ ।
तर, अझैपनि किभको चिडियाघरमा हात्ती, ऊँट, युक्रेनको एक मात्र गोरिल्लासहित चारहजार जीवजन्तुहरू फसेका छन् । अहिलेसम्म उनीहरूलाई सुरक्षित स्थानमा लान नसकिएको बताइएको छ ।
बम विस्फोटन र गोलीबारीका कारण आँत्तिएका हात्तीलगायत केही वन्यजन्तुलाई बेहोसीको सुई लगाएर शान्त पार्ने प्रयास गरिएको छ । त्यस्तै अन्य जीवजन्तुलाई चाहिँ पिँजडा भित्र शान्त ठाउँमा राखिएको छ ।
चिडियाघरकाअनुसार उनीहरूसँग १० दिनका लागि पुग्ने ऊर्जा, पानी, हिटर र खानेकुरा छ । बुधबारमात्र चिडियाघरले फेसबुकमा पोस्ट गर्दै त्यहाँको हेरचाह गर्ने कर्मचारी, भेटेनरी, इन्जिनियरलगायत कर्मचारीहरू चौबिसै घण्टा साइटमै रहेको जानकारी दिएको थियो ।
यसमा उनीहरूले सबै वन्यजन्तुको राम्रो ख्याल राखिरहेको, खाना पानी दिइरहेको पनि बताए । तापनि जनावरहरू विस्फोटनको ठूलो आवाजले तर्सिएको अवस्थामा रहेकाले भेटेनरीहरूले लगातार सबैमाथि निगरानी राख्नु परिरहेको उनीहरूले बताए ।
यसबाहेक बमबारीका कारण शरणविहीन बनेका अर्को एक सेल्टरका जीवजन्तुहरूलाई पनि अहिले वन्यजन्तुसम्बन्धी संगठनले खाना उपलब्ध गराइरहेको छ ।