चितवन । नेपाली कांग्रेस चितवनको नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । नारायणगढस्थित नारायणी कलामन्दिरमा आजदेखि निर्वाचन प्रक्रिया सुरु भएको हो । आज उम्मेद्वारहरुले ४९ जना कार्यसमितिको लागि १५२ जनाले मनोनयन दर्ता गराएका छन ।
जिल्ला सभापतिका लागि पाँच जनाको उम्मेद्वारी परेको छ । संस्थापन अर्थात शेरबहादुर देउवा समूहबाट वागमती प्रदेशका उद्योग तथा वाणिज्य मन्त्री मिलनबाबु श्रेष्ठ सभापतिमा उम्मेद्वारी दिएका छन् भने संस्थापन इतर चार जनाले उम्मेद्वारी दिएका छन् । जसमध्ये शेखर, शंशांक समूहबाट उत्तम जोशी, राजेश्वर खनाल र डा.सूर्यकान्त घिमिरे चुनावी मैदानमा छन् भने कैलाश कोइराला हालसम्म कुनै समूहमा छैनन् ।
यस्तै २ जना उपसभापतिका लागि १५ जनाको उम्मेद्वारी परेको छ । उम्मेद्वारी दिनेमा शालिक शर्मा पौडेल, सुरविर पोखरेल, उद्धव लोहनी, महेश बानियाँ, हेमलाल भट्टराई, राजेन्द्र डोटेल, रघुनाथ भट्ट, भुवन खनाल, मोहितजंग पाण्डे, निलमणि पाठक, तेजप्रसाद अधिकारी, राजन गौतम, बुद्धिबहादुर गुरुङ, निर्मल कुमार श्रेष्ठ र राजीव न्यौपाने रहेका छन । यसैगरि २ जना सचिवका लागि ८ जनाको उम्मेद्वारी परेको छ भने दुई सहसचिवको लागि १० जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशन नारायणगढस्थित नारायणी कलामन्दिरमा सुरु भएको छ । नयाँ नेतृत्वका लागि फागुन २० गते मतदान हुंँदैछ ।