चितवन । स्वस्तिक नेपालले भरतपुरको १६औँ स्थापना दिवस एवम् वार्षिक साधारणसभा विभिन्न सामाजिक कार्यक्रम गरी सम्पन्न गरेको छ ।
सो अवसरमा संस्थाले देवघाट समाज कल्याण केन्द्र बृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकहरूको सम्मानसहित भोजन सेवा एवम् खाद्य सामग्री सहयोग गरेको हो ।
संस्थाका पूर्व अध्यक्ष सुदीपसिंह अधिकारी एवम् सदस्य सुजनसिंह अधिकारीका पिता नेपाली सेनाका पूर्व प्रमुख सेनानी स्व।झलकमान सिंह अधिकारीको सम्झनामा संस्थामार्फत भोजनसेवा उपलब्ध गराइएको थियो । कार्यक्रम संयोजक नारायण कँडेलले उक्त सामग्री सहयोग गरेका हुन् ।
साथै संस्थाको अक्षयकोष निर्माणका लागि १५ हजार ५ सय ५५ रुपैयाँ समाज कल्याण केन्द्रलाई सहयोग गरी स्वस्तिक नेपालले आजीवन सदस्यता समेत लिएको छ ।
सोही अवसरमा सम्पन्न साधारणसभाले महासचिव बिमल अधिकारीले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष ईश्वरी पण्डितले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ ।
स्वस्तिक नेपालका संस्थापक अध्यक्ष हीरामान महर्जनको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रम अध्यक्ष राजन अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो ।
कार्यक्रममा पूर्वअध्यक्षहरू सुदीपसिंह अधिकारी, गणेशप्रसाद पौडेल, बालकृष्ण कँडेल, भरत मल्ल, देवघाट समाज कल्याण केन्द्रका संयोजक प्रविण कार्की, प्रमुख देबु अधिकारीलागयतको सहभागिता थियो ।
विस २०६३ सालमा स्थापित स्वस्तिक नेपाल एक गैरसरकारी संस्था हो । स्थापनादेखि नै यस संस्थाले स्वास्थ्य, शैक्षिक एवम् युवाहरूको क्षेत्रमा विभिन्न तालिम, अभियानहरू संचालन गर्दै आएको छ ।