चितवन । चितवनमा कोभिड १९ परीक्षणको नक्कली रिपोर्ट बनाउने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नं १३ घर भई भरतपुरको देव हस्पिटल एसिसटेन्ट सन्दिप सापकोटा र रत्ननगर नगरपालिका वडा नं ६ का प्रकाश न्यौपाने रहेका छन । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उपचारार्थ बिरामी शल्यक्रियाको लागि भर्ना भएको र शल्यक्रिया अघि बिरामीको पिसीआर रिपोर्ट अनिवार्य भएकोले उनीहरुले चाडो रिपोर्ट तयार पार्ने उद्धेश्य सहित उनीहरुले विरामीको स्वाव बुझेर केही क्षणपछिनै पिसिआरको रिपोर्ट बनाएका थिए । विरामीको सक्कली रिपोर्ट सरकारी भरतपुर अस्पतालले दिए अनुसार फरक देखिएकोले उनीहरु पक्राउ परेका हुन् । उनीहरुले भरतपुर अस्पतालको लेटर प्याड, छाप तथा सही समेत किर्ते गरी बिरामीलाई झुक्काएका थिए । न्यौपाने यसअघि सोही अस्पतालको प्रयोगशालामा काम गरेको तर हाल छोडेको प्रहरीको भनाई छ ।उनीहरुलाई नियन्त्रणमा लिई अदालतबाट म्याद थपेर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।