भरतपुर । गैँडा मारी खाग चोरी लगेको अभियोगमा दस वर्ष कैद र एक लाख रूपैयाँ जरिवानासमेत तोकिएका फरार आरोपित कालिका नगरपालिका–२ का कृष्णप्रसाद न्यौपाने २३ वर्षपछि पक्राउ परेका छन्।
चितवन राष्ट्रिय निकुञ्जले विशेष सूचनाको आधारमा काठमाडौँ तारकेश्वर नगरपालिका वडा नं. ७ फुटुङ भन्ने स्थानबाट यही माघ ७ गते पक्राउ गरेको हो। उनी २३ वर्षदेखि विभिन्न स्थानमा लुकीछिपी बस्दै आएका थिए। न्यौपानेलाई २०५७ माघ २५ गतेको फैसलाले दस वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना तोकिएको थियो।
२०५५ कात्तिक २८ गते निकुञ्जको अमृते पोष्टबाट करिब डेढ किमी पूर्वतर्फ गैँडालाई खाडलमा पारी मारेर खाग लगेको अनुसन्धान गर्दै जाँदा आरोपित न्यौपानेसहित १२ जनाको सांगठनिक तहमा संलग्नता रहेको खुल्न आएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए।
पक्राउ परेका न्यौपानेको स्वास्थ्य जाँच गर्दा काभिड–१९ सङ्क्रमण देखिएकोमा माघ ७ देखि १७ गतेसम्म आइसोलेसनमा राखी पुनः परीक्षण गराउँदा सङ्क्रमणमुक्त भएको देखिएकोले १८ गते जिल्ला कारागार भरतपुर चलान गरिएको सूचना अधिकारी तिवारीको भनाइ छ।
निकुुञ्जले फरार व्यक्तिलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन सहयोग गर्ने नेपाली सेना, प्रहरी, निकुञ्ज कर्मचारीलगायत सरोकारवाला सबैमा धन्यवाद ज्ञापन गरेको छ।
गैँडा मुद्दाका फरार अभियुक्त कृष्णप्रसाद न्यौपाने २३ वर्षपछि पक्राउ
गैँडा मुद्दाका फरार अभियुक्त कृष्णप्रसाद न्यौपाने २३ वर्षपछि पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु