काठमाडौँ । सरकारले सोनाम ल्होसारका अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
हिजो बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले माघ १९ गते बुधवार सोनाम ल्होसारका दिन देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिनुभयो ।
यस्तै बैठकले शिक्षक अस्पताल स्थापनाका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिने, कच्चा दुधको न्यूनतम मूल्य ५६ दशमलव ०४ रुपैयाँ निर्धारण गर्ने निर्णय गरेको छ ।
बैठकले नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा जाजरकोटका समीरजंग शाहलाई नियुक्त गर्ने, नेपाल खुल्ला विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक शिलु मानन्धरलाई नियुक्त गर्ने तथा अर्थ मन्त्रालयका सहसचिव रामेश्वर दंगाललाई निजामती सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकले विश्व बैङ्कबाट फाइनान्स फर ग्रोथ डेभलपमेन्ट पोलिसी क्रेडिट बापत प्राप्त हुने १ सय ५० मिलियन अमेरिकी डलर अर्थात् करिब १८ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहायता सम्बन्धी दस्ताबेजलाई अन्तिम रूप दिन वार्ता टोली गठन गर्ने पनि निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिनुभयो ।
यसैगरी बैठकले तनहुँ जलविद्युत आयोजनाको प्रसारण लाइनका लागि जग्गा प्राप्ति सम्बन्धी प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने, दार्चुलाको तुषारपानी देखी कोठाधार सम्मको ४ किलोमिटर सडक खण्डको ट्र्याक नेपाली सेनाबाट निर्माण गराउन स्वीकृति दिने, सफा हिमाल अभियान २०२२ मा खटिने नेपाली सेनाका सदस्यहरू हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर तथा गारवेज धरौटी बापतको रकम छुट दिने लगायतका निर्णयहरू गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।