चितवन । राष्ट्रिय गौरवको परियोजना अन्तर्गत चितवनमा निर्माणधीन अवस्थामा रहेको गौतम बुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढाउन सरकारले दायित्व र स्वामित्व लिनुपर्नेमा जोड दिईएको छ । बिहिबार युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज सहित सर्वपक्षीय टोलीले उक्त रंगशालालाई यथाशीघ्र निर्माण प्रक्रिया अघि बढाउन जोड दिएका थिए ।
भरतपुर महानगरपालिकाले भरतपुरमा आयोजना गरेको गौतम बुद्ध अन्र्तराष्ट्रिय रंगशाला सम्बन्धी अन्र्तक्रियाका सहभागीहरुले कुन मोडलमा जानुपर्ने सो बारेमा चांँडोभन्दा चांँडो निर्माण गर्नुपर्नेमा जोड दिएका थिए । धुर्मुस सुन्तली फाउण्डेशनले निर्माणको क्रममा १७ करोड ऋण लागिसकेको र रकम अभाव भएको भन्दै अब फाउण्डेशनको संयोजनमा निर्माण सम्पन्न गर्न नसक्ने भन्दै महानगरलाई यसअघिनै पत्राचार भएपछि सबैको ध्यानाकर्षण भएको हो । निर्माण प्रक्रिया पुन अघि बढाउन हालसम्मको आय–व्यय, आर्थिक प्रतिवेदन ,फाउण्डेशनले बुझाउनु पर्ने र प्राविधिक सहितको टोलीले मुल्यांकन गर्नुपर्नेमा सर्वदलीय , नीजि क्षेत्रका सहभागीले जोड दिएका थिए ।
सो अवसरमा बोल्दै भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले रंगशालाले तिर्नुपर्ने रकमनै चुनौति रहेको बताइन । रंगशालाको हाल सम्मको संक्षिप्त बिबरण पेश गर्दै सो को दिर्घकालिन व्यवस्थापन गर्नका लागि महानगरपालिकाको स्रोत, साधन र क्षमताले नभ्याउने भएकाले संघीय सरकारको निर्णय आवश्यक भएको बताईन । यो महानगर भित्रको गौरबको आयोजना भएको भन्दै प्रमुख दाहालले यसमा ४० हजार भन्दा बढी दाताको आर्थिक रुपमा योगदान रहेको स्मरण गरिन ।सरकारले आर्थिक सहयोग गरेमा महानगरपालिका आफैंले रंगशाला निर्माणको काम गर्ने मेयर दाहालको भनाई थियो ।
फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले आफूले प्रक्रियागत ढंगल काम गरेको भन्दै आफूले सबैले गरेको सहयोग खेर जान नदिएको दाबी गरे । उनले आफूमाथि गम्भिर प्रश्न उठेको भन्दै सबै प्रश्नको जवाफ दिने बताए । सर्बप्रथम त म सबैसंँग क्षमा माग्न चाहन्छ । जुन उद्धेश्यले कामको जिम्मा लिएको थिए । अहिले ममाथि सबैको प्रश्न उठेको छ । यसको जवाफ म दिनेछु । उनले भने । आफूले २०७८ असार मसान्त सम्मको लेखा परीक्षण प्रतिवेदन र पुषसम्मको अनुमानित प्रतिवेदन दिने प्रतिबद्धता दोहोरयाए । ‘म पापको खोल ओडेर धर्ती छोड्न चाहन्न एक एक हिसाब बुझाउन तयार छु ।’उनले थपे ।
युवा तथा खेलकुद मन्त्रालयका सचिब डा.दामोदर रेग्मीले परियोजना सम्पन्न गर्न मन्त्रालय सकारात्मक रहेको बताए ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अलपत्र पर्न नदिने प्रतिबद्दता जनाए ।
नेपालमा अन्तर्राष्ट्रिय स्तरका खेल खेलाउन मिल्ने रंगशाला नभएको भन्दै उनले सबै हिसाबले उपयुक्त ठाउँमा रहेकाले भरतपुरमा निर्माण रोकिएको रंगशाला सम्पन्न गर्नुपर्नेमा जोड दिए । कुन तरिकाले व्यवस्थापन गर्न सकिन्छ भन्ने बिषयमा मन्त्रालयको सिंगो टोली यहाँ आएको भन्दै मन्त्री गहतराजले टोलीलले अध्ययन थाल्ने बताए । रंगशाला सम्पन्न गर्न स्थानियको चासो हुनु पर्ने भन्दै उनले भने “तपाईहरु एक ढिक्का भएर नलागे परियोजना अलपत्र पर्न सक्छ ।”
केन्द्र, प्रदेश र महानगरको संयुक्त प्रयासबाट रंगशाला सम्पन्न हुने उनको भनाई थियो । खेलकुदका पूर्बाधारहरु बजेटको अभावमा अलपत्र परेका भन्दै दातृ निकायहरुसंग आर्थिक सहयोगका लागि कुराकानी समेत भईरहेको मन्त्री गहतराजले बताए । रंगशाला निर्माणको जिम्मा लिएको धुर्मुश–सुन्तली फाउण्डेशनले अहिले सम्मको खर्च बिबरण यथाशिघ्र सार्बजनिक गरेर बुझाएमा काम अघि वढाउन सहज हुने मन्त्री गहतराजको भनाई थियो । ‘राष्ट्रिय सहमती जुटेर अघि बढेको देशकै यो नमुना परियोजना भएकाले यसलाई सम्पन्न गर्न मन्त्रालयको ध्यान गएको छ ।’उनले भने ।
अन्तरक्रिया कार्यक्रम अघि मन्त्री गहतराज सहितको मन्त्रालयको टोलीले निर्माण रोकिएको रंगशालाको निरीक्षण गरेको थियो ।