चितवन। फाइनलमा पुगेका बिएफसी र एभरेष्ट दुबै टोली आ-आफ्नो समूहबाट बिजेता भन्दै अघि बढेका हुन् । बिएफसी समूह ‘ए’ को बिजेता हो भने एभरेष्ट समूह ‘बी’ को बिजेता हो । लिगमा दुबै टोलीले सानदार सुरुवात गरेको थियो ।
बिएफसीले लिगको पहिलो खेलमा नै नारायणगढ फुटबल क्लब एनएफसीलाई ४-० ले पराजित गर्दै सानदार सुरुवात गरेको थियो । बिएफसीले समूह चरणका ६ मध्ये पाँच खेलमा जित हात पारेको थियो । सौराहासँग भने बिएफसी ३-२ ले पराजित भएको थियो ।
सेमिफाइनलमा रामपुर फुटबल क्लब रड्सलाई ५-३ ले पराजित गर्दै बिएफसी फाइनलमा प्रवेश गरेको हो । लिगमा अहिलेसम्म १९ गोल गरेको बिएफसीले ६ गोल मात्रै खाएको छ ।
उता एभरेष्टले लिगको पहिलो खेलमा नारायणी एफसीलाई ४-१ ले पराजित गरेको थियो । एभरेष्टले समूह चरणका पाँच मध्ये चार खेलमा जित हात पारेको थियो । एक खेलमा भने एभरेष्ट पराजित भएको थियो ।
एभरेष्ट समूह चरणमा बगान यात्रा ग्रुपसँग १-० ले पराजित भएको थियो । सेमिफाइनलमा एभरेष्टले समूह ‘ए’ को उपबिजेता सौराह युवा समाजलाई टाईब्रेकरमा ४-३ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । लिगमा अहिलेसम्म १६ गोल गरेको एभरेष्टले ६ गोल खाएको छ ।