चितवन – सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा नारायणगढ फुटबल क्लब (एनएफसी) लाई बराबरीमा रोक्दै वातासिनो जि ब्वाइजले अंक खोसेको छ ।
आज (बुधबार) भएको दोस्रो खेलमा २-० ले पछि परेको अवस्था उल्टाउदै बराबरी गरेर जि ब्वाइजले अंक खोसेको हो । खेलको पहिलो हाफमा एनएफसीले २-० अग्रता लिएको थियो ।
खेलको १३ औं मिनेटमा कप्तान शिखर उप्रेतीले गोल गर्दै एनएफसीलाई अग्रता दिलाएका थिए । जि ब्वाइजको गोलरक्षक अघि बढेको अवस्थामा गोल गर्दै एनएफसीलाई अग्रता दिलाएका थिए । लगत्तै १६ औं मिनेटमामा शिखरले दोस्रो गोल गर्दै एनएफसीलाई दोहोरो अग्रता दिलाए ।
पहिलो हाफमा थप गरिएको ४ मिनेटको अन्तिम मिनेटमा जि ब्वाइजले पेनाल्टी पायो । एनएफसीका दीपजङ तामाङले फल गरेपछि रेफ्रीले जि ब्वाइजलाई पेनाल्टी दिएका थिए । प्राप्त अवसरलाई पदम बहादुर नेपालीले गोलमा परिणत गराए ।
६४ औं मिनेटमा जि ब्वाइजका अश्विक दुराले बराबरी गोल फर्काए । खेलको म्यान अफ दि म्याच जि ब्वाइजका अश्विक चुनिए । बराबरीपछि जि ब्वाइज पाँच खेलबाट ५ अंक बनाउँदै समूहको चौथो स्थानमा उक्लिएको छ । समान खेलबाट ३ अंल बटुलेको एनएफसी तालिकाको छैटौं स्थानमा यथावत छ ।
यस अघि आजको पहिलो खेलमा रामपुर फुटबल क्लबलाई पराजित गर्दै सेन्ट्रल कलेज एभरेष्ट क्लब चितवन समूह ‘बी’ को बिजेता बनेर लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।
समूह चरणको अन्तिम खेलमा रामपुर फुटबल क्लबलाई १-० ले पराजित गर्दै एभरेष्ट समूह बिजेता बनेको हो । पराजित भए पनि रामपुर समूह उपबिजेता बन्दै सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ ।
एभरेष्टको जितमा रोशन क्षेत्रीले निर्णायक गोल गरे । खेलको १६ औं मिनेटमा रोशनले गरेको गोल नै एभरेष्टलाई जिताउन पर्याप्त रह्यो । खेलको म्यान अफ दि म्याक्च एभरेष्टका रोशन क्षेत्री चुनिए ।
यो जितपछि समूह बिजेता बनेको एभरेष्टको १२ अंक भएको छ । समूह उपबिजेता बनेको रामपुरको ९ अंक भएको छ । चितवन जिल्ला फुटबल संघको आयोजनामा भरतपुर ७ कृष्णपुरस्थित रंगशालामा जारी लिगमा १३ टोली सहभागि छन् ।