चितवन – रोशन क्षेत्रीको हृयाट्रिकको मद्तमा सेन्ट्रल कलेज एभरेष्ट क्लबले चितवन जिल्ला ए डिभिजन लिगमा फराकिलो जित हात पारेको छ।
आज (शनिबार) भएको दोस्रो खेलमा एभरेष्टले एस्ट्रल युथ सोसाइटीलाई ५-० को फराकिलो अन्तरले पराजित गरेको हो । एभरेष्टको जितमा रोशन क्षेत्रीले हृयाट्रिक गरे भने सुधिर कुमार श्रेष्ठ र आशिष गजुरेलले एक-एक गोल गरे ।
खेलको २९ औं मिनेटमा सुधिरको गोलबाट एभरेष्टले अग्रता लिएको थियो । पहिलो हाफमा एभरेष्ट १-० ले अघि रह्यो । दोस्रो हाफमा एभरेष्टले ४ गोल थप्यो ।
४५ औं मिनेटमामा रोशनले गोल गर्दै एभरेष्टको अग्रता दोब्बर बनाए । लगत्तै ५१ औं मिनेटमा रोशनले व्यक्तिगत दोस्रो गोल गरेपछि एभरेष्टले ३-० को अग्रता लियो । ६४ औं मिनेटमा रोशनले हृयाट्रिक पूरा गरे । यो जारी लिगको दोस्रो हृयाट्रिक हो । यस अघि एभरेष्टकै आशिष गजुरेलले नारायणी एफसीविरुद्ध हृयाट्रिक गरेका थिए । ७७ औं मिनेटमा आशिषले गोल गरेपछि एभरेष्ट ५-० ले बिजयी भयो ।
खेलको म्यान अफ दि म्याच एभरेष्टका रोशन क्षेत्री चुनिए । यो जितसँगै एभरेष्ट समूह ‘बी’ को शिर्ष स्थानमा उक्लिएको छ । एभरेष्टको ४ खेलबाट ९ अंक भएको छ । समान अंक भएको रामपुर हेड टु हेडको आधारमा दोस्रो स्थानमा छ । समान खेल खेलेको बगान यात्रा ग्रुप ७ अंक सहित तेस्रो स्थानमा झरेको छ ।
एस्ट्रल भने रेगिलेसनमा परेको छ । लिगमा चार खेलेको एस्ट्रल चारै खेलमा पराजित भएको छ । तालिकामा अंकबिहिन एस्ट्रलले लिगमा एक खेल्न बाँकी छ । उक्त खेलको कुनै पनि नतिजाले एस्ट्रललाई रेलिगेसनबाट जोगाउने छैन ।
यस अघि आजको पहिलो खेलमा बगान यात्रा ग्रुप र हर्दी युवा समाजले अंक बाँडेका थिए । यात्रा र हर्दीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले गोल गर्ने केही अवसर खेर फाले ।
खेलको म्यान अफ दि म्याच यात्राका रोजल दाहाल घोषित भए । बराबरीपछि समूह ‘बी’ मा ४ खेलबाट ७ अंक बटुल्दै यात्रा तेस्रो स्थानमा छ ।
समान खेलबाट ४ अंक बनाएको हर्दी तालिकाको पाचौं स्थान।आ यथावत छ । चितवन जिल्ला फुटबल संघको आयोजनामा भरतपुर ७ कृष्णपुरस्थित रंगशालामा जारी लिगमा १३ टोली सहभागि छन् ।