चितवन। चितवनमा कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि केन्द्रीय अस्पतालको रुपमा परिचित भरतपुर अस्पतालले प्रवेशमा कडाई गरेको छ । बिरामीको भीड बढ्दै गएपछि अस्पतालमा जोखिम बढ्ने भन्दै आज विज्ञप्ति जारी गरि सामान्य प्रकृतिका विरामीलाई असपतालमा नआउन अनुरोध गरेको हो । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले शनिबार विज्ञप्ति जारी गरी अस्पतालमा एकअर्कामा संक्रमण फैलन सक्ने सम्भावना बढेकाले अत्यावश्यक विरामी लाई मात्र सेवा लिन आग्रह गरेका छन ।
विज्ञप्तिमा भनिएको छ ‘यो कोभिड–१९ संक्रमणको उच्च प्रकोप हो । काठमाडौँको त्रिवि टिचिङ र विर अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीहरु पनि उच्च संख्यामा संक्रमित भएको तथ्यांकले समेत अस्पतालमा एकअर्काबाट संक्रमण फैलिन सक्ने सम्भावना बढ्दै गएको देखिन्छ’,
सामान्य र पछि चेकजाँच गराउँदा पनि हुने प्रकृतिका विरामीले अस्पताल आउने समय पछि सार्नु उपयुक्त हुने अस्पतालले बताएको छ । टेलिफोन सम्पर्कमा मेसु डाक्टर पौडेलले भने, अस्पतालमा दर्जनौं स्वास्थ्यकर्मी पनि संक्रमित भएका छन । अस्पतालमा उपचार गर्न नआउनु भन्ने होइन । विमाका विरामीले पनि सामान्य उपचार गर्न आएको देखियो । एक विरामीको कुरुवा एकजना मात्र आउन भन्ने पनि हाम्रो अनुरोध हो ।’
तत्कालै अस्पताल पुग्नुपर्ने विरामी र विरामी कुरुवाले पनि हेलचक्राई नगरी जनस्वास्थ्यका मापदण्ड पालना गर्न अस्पतालले आग्रह गरेको छ ।
अस्पतालमा २९ पुसमा १७२ जनाले कोभिड परीक्षण गराएकोमा ९५ जनामा (५५ प्रतिशत) संक्रमण देखिएको थियो । ३० गते १८६ जनाले कोभिड परीक्षण गराएकोमा ११५ जना (६१.२५ प्रतिशत)मा कोभिड पुष्टि भएको पौडेलले जानकारी दिए । हाल अस्पतालमा दैनिक औसत तीनहजारको हाराहारीमा उपचार गर्न आउंँछन । चितवन लगायत देशका दुईदर्जन भन्दा बढी जिल्लाबाट उपचार गर्न यहांँ आउने गर्दछन ।