चितवन – रामपुर फुटबल क्लब रड्स सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगको शिर्ष स्थानमा उक्लिएको छ । आज (शुक्रबार) भएको दोस्रो खेलमा नारायणी एफसीलाई हराउँदै रामपुर समूह ‘बी’ को शिर्ष स्थानमा उक्लिएको हो ।
रामपुरले नारायणीलाई २-० ले पाखा लगायो । रामपुरको जितमा दुबै गोल बिशाल तामाङले गरे । दुबै गोल खेलको पहिलो हाफमा भएको थियो ।
आठौं मिनेटमा बिशालले गोल गर्दै रामपुरलाई सुरुवाती अग्रता दिलाएका थिए । १९ औं मिनेटमा उनले ब्यक्तिगत तथा टिमका लागि दोस्रो गोल गरेपछि पहिलो हाफमा रामपुरले २-० को अग्रता लियो ।
दोस्रो हाफमा पनि रामपुरले गोल गर्ने प्रसस्तै अवसर पाएको थियो । तर सदुपयोग हुन सकेन । यो खेलको म्यान अफ दि म्याच दुई गोल गरेका बिशाल तामाङ चुनिए ।
जितसँगै रामपुर समूह ‘बी’ को शिर्ष स्थानमा उक्लिएको छ । रामपुरको ४ खेलबाट ९ अंक भएको छ । रामपुर ३ खेलमा बिजयी हुँदा एक खेलमा पराजित भएको थियो । समान ४ खेलबाट ६ अंक बनाएको नारायणी चौथो स्थानमा यथावत छ ।
एक खेल कम खेलेको सेन्ट्रल कलेज एभरेष्ट फुटबल क्लब समान ६ अंकसहित दोस्रो स्थानमा झरेको छ भने समान अंकसहित बगान यात्रा ग्रुप तेस्रो स्थानमा यथावत छ । यो समूहमा ३ खेलबाट ३ अंक बनाएको हर्दी युवा समाज पाँचौ तथा अंकबिहिन एस्ट्रल युथ सोसाइटी पुछारमा छ ।
यस अघि आजै सम्पन्न पहिलो खेलमा सौराहा बिजयी भएको थियो । जारी लिगमा पहिलो जित निकाल्ने क्रममा साबिक बिजेता सौराहाले वातासिनो जि ब्वाइज गीतानगरलाई ३-२ ले पराजित गर्यो ।
प्रतिस्पर्धात्मक खेलमा सौराहालाई जिताउन रबिन दराई, प्रताप भट्ट र सन्तोष कोइरालाले गोल गरे । गीतानगरका सोमबहादुर श्रेष्ठ र पदमबहादुर नेपालीले एक-एक गोल फर्काए ।
सौराहाले खेलको पाँचौ मिनेटमा नै अग्रता लिएको थियो । रबिन दराईले गोल गर्दै सौराहालाई सुरुवाती अग्रता दिलाएका थिए । १८ औं मिनेटमा गीतानगरले गोल फर्कायो । गीतानगरका सोमले गोल गर्दै खेलमा १-१ को बराबरी गरे । पहिलो हाफमा नै सौराहाले फेरि अग्रता लियो । २६ औं मिनेटमा मैदान प्रवेश गरेका प्रतापले ३९ औं मिनेटम सुन्दर गोल गर्दै सौराहालाई २-१ को अग्रता दिलाए ।
दोस्रो हाफमा दुबै टोलीले एक-एक गोल गरे । ५५ औं मिनेटमा मैदान प्रवेश गरेका सन्तोषले ५७ औं मिनेटमा गोल गर्दै सौराहाको अग्रता ३-१ मा पुराए । ६१ औं मिनेटमा गीतानगरले गोल गर्यो । सौराहाका कप्तान अनिल महतोले गीतानगरका खेलाडीलाई डिबक्स भित्र फल गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । प्राप्त अवसरमा पदमले गोल गरे । खेलको अन्तिम समयमा प्राप्त केहि अवसर सदुपयोग गर्न नसल्दा गीतानगर पराजित भयो ।
खेलको म्यान अफ दि म्याच सौराहाका प्रताप भट्ट चुनिए । यो जितसँगै सौराहा समूह ‘ए’ को दोस्रो स्थानमा उक्लिएको छ । उसको ४ खेलबाट ६ अंक भएको छ । यो हारपछि गीतानगरलाई भने रेलिगेसनको खतरा भएको छ । खेलेका चारै खेलमा शतप्रतिशत नतिजा निकालेको केबिए ग्लोबल भरतपुर फुटबल क्लब शिर्ष स्थानमा छ ।
लिग अन्तर्गत शनिबार समूह ‘बी’ का दुई खेल हुनेछ । पहिलो खेल दिउँसो १ बजे यात्रा ग्रुप र हर्दीबीच हुनेछ भने दोस्रो खेल दिउँसो ३:३० बजे एस्ट्रल र एभरेष्टबीच हुनेछ । चितवन जिल्ला फुटबल संघको आयोजनामा भरतपुर ७ कृष्णपुरस्थित रंगशालामा जारी लिगमा १३ टोली सहभागि छन् ।