चितवन । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले चितवनलाई एग्रो टुरिजमको रुपमा विकास गर्ने बताउनु भएको छ । आज देखि शुरु भएको चितवन महोत्सवको १३ औँ संस्करणको शुभारम्भ गर्दै पाण्डेले यस्तो बताउनुभएको हो ।
चितवन देशकै केन्द्र बिन्दु रहेको र यो जिल्ला कृषि हबको रुपमा विकसित हुँदै गएकोले यसलाई एग्रो टुरिजमको उत्तिकै सम्भावना रहेको बताउनुभयो । ‘यो पोल्ट्रीको राजधानी हो, कृषिको एक मात्र विश्वविद्यालय पनि यहीँ छ । उहाँले भन्नुभयो, मह, केरा, माछा, दुधमा पनि अग्रणी स्थानमा छ ।’
कृषिलाई विज्ञान र प्रविधिसँग जोड्दै, उत्पादनमा वृद्धि गर्दै औद्योगीकरणमा जानुपर्ने उहाँको भनाई थियो । औद्योगिक मेला हार्टबजारको विकसित रूप भएको भन्दै मुख्यमन्त्री पाण्डेले यसले स्थानीय उत्पादन प्रवर्द्धन गर्नुका साथै नयाँ उत्पादनको समेत बजारीकरण हुने बताउनुभयो ।
‘विदेशमा टिकट काट्यो फलफूलको बगैचांँमा छिर्यो घुम्यो टन्न फलफूल खाएर निस्कन पाइने व्यवस्था छ, उहाँले भन्नुभयो, यस्तो काम एग्रो टुरिजम अवधारणा मार्फत यहाँ पनि गर्न सकिन्छ ।’
सीपयुक्त जनशक्ति उत्पादन नगरे देशको आर्थिक समृद्धि हुन नसक्ने भन्दै यहाँका उद्योगी व्यवसायीले विदेशको सामान मात्र बेचेर औद्योगिक क्रान्ति नआउने उहाँले बताउनुभयो ।
अहिले १० लाख जति भारतीय मजदुर, प्राविधिक नेपालमा होलान्, २० लाख जति नेपाली भारतमा होलान्, उहाँले भन्नुभयो, हामी नेपालीले कमाएर पठाउने भन्दा यहाँबाट बढी कमाएर लगेका छन् ।’
निजी क्षेत्रले समस्या मात्र नदेखाई कुन कुन क्षेत्रका समस्या र अप्ठेरो भए सरकारसँग सिधै आउन समेत उहाँले आग्रह गर्नुभयो ।