चितवन – सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा रामपुर फुटबल क्लब रड्सले पहिलो जित निकालेको छ ।
आज (आइतबार) भएको पहिलो खेलमा रामपुरले एस्ट्रल युथ सोसाइटीलाई ३-१ ले पाखा लगायो । रामपुरको जितमा बिशाल तामाङ, बिशेष तामाङ र समिप ढकालले एक-एक गोल गरे । एस्ट्रलका अभिषेक महतोले एक गोल फर्काए ।
खेलको दोस्रो मिनेटमा नै बिशालले गोल गर्दै रामपुरलाई अग्रता दिलाएका थिए । २१ औं मिनेटमा एस्ट्रलका अभिषेकले बराबरी गोल फर्कायो । पहिलो हाफमा नै रामपुरले फेरि अग्रता लियो । पहिलो हाफा थप गरिएको अतिरिक्त समयको तेस्रो मिनेटमा बिशेषले गोल गर्दै पुनः रामपुरलाई अग्रता दिलाए ।
दोस्रो हाफमा रामपुरले थप एक गोल गर्यो। ७५ औं मिनेटमा समिपले गोल गर्दै ३-१ को जित सुनिश्चित गरे । जितसंगै रामपुरले समूह ‘बी’ मा तीन अंक बनाएको छ । एस्ट्रल भने अंकबिहिन छ ।
आजकै दोस्रो खेलमा यात्रा ग्रुप भरतपुर र नारायणी एफसी भिड्नेछन् । चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी लिग माघ ८ गतेसम्म चल्नेछ । लिगमा १३ टोली सहभागी छन् ।
लिग बिजेताले ट्रफीसहित एक लाख पाउनेछ भने उपबिजेताले ५० हजार प्राप्त गर्नेछ । तेस्रो र चौथो हुने टोलीले समान २५-२५ हजार प्राप्त गर्नेछ ।