चितवन । बागमती प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वसुन्धरा हुमागाईँले अब दुग्ध उत्पादक किसानलाई उत्पादन र पशु सङ्ख्याको आधारमा अनुदान दिने बताउनुभएको छ ।
आज चितवन दुग्ध उत्पादक सहकारी संस्थाले आयोजना गरेको स्वागत तथा अन्तर्क्रिया कार्यक्रममा बोल्दै उहाँले अब अनुदानलाई एकद्धार प्रणाली मार्फत लगिने बताउनुभयो । कृषि अनुदान वास्तविक किसानले पाउन नसकेको र सबै किसानलाई अनुदानको पहुँच पुर्याउन राज्यको अनुभूति गराउन पनि सो प्रणाली स्थापित गर्ने बताउनु भएको हो । ‘हामीले प्रदेशका ९० प्रतिशत किसानले अनुदान पाउने गरी ऐन, कानुन तथा कार्यविधि तयारी गरेका छौँ, उहाँले भन्नुभयो, अनुदान पनि सिधै किसानको खातामा जाने व्यवस्था गर्दैछौं ।’
राज्यको लक्ष्य, उद्देश्य भनेकै देशलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने र समृद्ध बनाउने अभियान रहेकोले सरकारले किसानकै लागि ५१ बुँदे घोषणा समेत जारी गरेको उहाँले बताउनुभयो । उहाँले छिट्टै नै चितवनका लागि पशु एम्बुलेन्स को व्यवस्था गरिने र एक वर्षभित्र प्रत्येक वडाभित्र पशु उपचार सेवा केन्द्र स्थापना गर्न प्रदेश सरकार लागिरहेको बताउनुभयो ।
सो अवसरमा बोल्दै मन्त्रालयका सचिव डाक्टर शरण पाण्डेले किसानलाई तीन वटा जोन छुट्याएर वर्गीकरण गर्न लागिएको बताउनुभयो । दूधमा बिचौलिया निरुत्साहित गर्नका लागि सहकारी मार्फत दूध भण्डारण र बिक्री गर्ने व्यवस्था मिलाउने डाक्टर पाण्डेले बताउनुभयो । साथै अनुदानको दुरुपयोग गर्ने जोसुकैलाई पनि कारबाही गरिने उहाँको भनाई थियो । ‘चाहे किसान या कर्मचारी हुन् अनुदानको दुरुपयोग गर्नेलाई अव कारबाहीको दायरामा ल्याउँछौ ।’ उहाँले भन्नुभयो ।
कार्यक्रममा सहभागी दुग्ध उत्पादक किसानहरूले दूधको मूल्य वृद्धि गर्नुपर्ने, अनुदान बढाउनुपर्ने र किसानलाई परिचयपत्र र वर्गीकरण गर्नुपर्ने लगायतका माग राखेका थिए ।