चितवन । नेपालमा आधुनिक पोल्ट्री व्यवसाय शुरु भएको ६ दशक वितेपनि यस क्षेत्र उत्पादनमा निर्भर भएपनि कच्चापदार्थमा परनिर्भर हुनु परेको छ । तथ्यांक अनुसार बार्षिक पोल्ट्रीजन्य उत्पादनमा १ खर्ब भन्दा बढी कारोबार हुंँदै आएको छ । प्रत्यक्ष डेढलाख तथा अप्रत्यक्ष गरी झण्डै सांँढे ४ लाखलाई रोजगारी दिन सफल भएको छ । देशको कुल ग्राहस्थ उत्पादनको ३ दशमलव ७ प्रतिशत योगदान दिदै आएको पोल्ट्री क्षेत्रले कच्चा पदार्थमा भने आयातमा निर्भर हुनुपर्दा न त प्रतिस्पर्धानै हुन सकेको छ न त मुल्यमा एकरुपतामै । नेपालमा हाल दैनिक ३० लाख अण्डा र ८ लाख केजी मासु उत्पादन हुंँदै आएको तथ्यांक छ ।
तर यो भन्दा डरलाग्दो अवस्था पोल्ट्रीजन्य कच्चापदार्थको आयात जस्तै मकै, भटमास, पीना तथा पंक्षीजन्य औषधीमा पर निर्भर बन्नुपरेको छ । पोल्ट्री विज्ञ डाक्टर तिलचन्द्र भट्टराइका अनुसार दाना उत्पादनको लागि बार्षिक भटमास र पीना १४ अर्ब , मकै १२ अर्ब र औषधी, भिटामीन गरी १० अर्ब रुपैंया बराबरको आयात गर्नुपर्ने बाध्यता छ । जसअनुसार दाना उत्पादनको लागि ८० प्रतिशत मकै, ९५ प्रतिशत भटमास आयात हुने गरेको छ भने यसलाई चाहिने आवश्यक अन्य कच्चा पदार्थ फिड प्रिमिक्स,र फिड सप्लिमेण्टको लागि आवश्यक कच्चा पदार्थ ९९ दशमलब ९९ प्रतिशत आयात हुने गरेको डाक्टर भट्टराईले जानकारी दिए । कृषिजन्य कच्चा पदार्थमा पनि सरकारले ९ प्रतिशत भन्सार कर लिएकोले दाना मुल्यको तुलनामा मासुको मुल्य बढ्न नसकेको डा भट्टराईले बताए । ‘दानाको मुल्य प्रत्येक बर्ष बढेको बढेयई छ । मासुको मुल्य भने बर्षौदेखि बढ्न सकेको छैन । नत खपतनै बढेको छ ।’ उनले भने । मासुको उत्पादनको तुलनामा खपत बढ््न नसकेपनि अण्डाको उत्पादन , मुल्य र खपत भने सन्तुलनमा रहेको उनको भनाई छ ।
नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले पोल्ट्रीजन्य उत्पादनको कच्चा पदार्थको मुल्य बृद्धिका कारण प्रतिस्पर्धा गर्न नसकिएको बताउंँछन । साथै अधिकांश कुखुराका खोर तथा उपकरणहरु पुरानै प्रयोग भईरहंँदा थप चालु खर्च तथा लागत बढेको उनको भनाई छ । पोल्ट्रीलाई व्यवसायिक र प्रतिस्पर्धात्मक बजारमा ल्याउन पोल्ट्री बोर्ड स्थापना गरी पोल्ट्री नीति बनाउनु पर्ने र बनाईसकेका नीतिहरु कार्यन्वयन गर्नुपर्ने उनको भनाई छ । पोल्ट्रीको कच्चा पदार्थमा आत्म निर्भर बनाउन कृषि उपजलाई नेपालमै उब्जनी गराउन जोड दिनुपर्ने र कृषकलाई नगद अनुदान भन्दा सहुलियत व्याजदर र करमा अनुदान दिनुपर्ने विष्टले बताए ।
उत्पादन भन्दा उपभोग कम
नेपालमा उत्पादन हुने पोल्ट्रीजन्य मासु तथा अण्डाको उत्पादन बढी भएपनि यसको तुलनामा भने उपभोग कम हुने गरेको छ । अन्र्तराष्ट्रिय मापदण्ड अनुसार नेपालमा प्रत्येक मानिसले न्यूनतम बार्षिक ६ दशमलब २ केजी मासु र ६१ वटा अण्डा मात्र उपभोग गर्ने गर्दछन । तर चिकित्सक अनुसार शरीरलाई चाहिने आवश्यक पौष्टिक तत्वको लागि हरेक व्यक्तिले बार्षिक १८ केजी मासु र दैनिक दुईवटा अण्डा खानु स्वास्थ्यको लागि लाभदायक हुन्छ ।
शरीरलाई आवश्यक पर्ने र जुनसुकै उमेर समुहका मानिसलाई पनि लाभदायक हुने कुखुराको अण्डा र मासु आवश्यक उपभोग नहुंँदा मानिसहरुलाई कुपोषण लगायत शरीरलाई चाहिने मिनरल्स,भिटामीन र प्रोटिनको मात्र कम हुने गरेको वरिष्ठ फिजिशियन डाक्टर भोजराज अधिकारीको भनाई छ । नेपालमा अझै पनि ४३ प्रतिशत नेपालीमा प्रोटिनको मात्र कम रहेको छ ।
अण्डाको बजार राम्रो रहेपनि ब्रोइलर कुखुराको बजार, मुल्य बढ्न नसक्दा कृषक ह्याचरी व्यवसायी दुबै ठूलो मारमा परेको पोल्ट्री विद डाक्टर तिलचन्द्र भट्टराईको भनाई छ । चल्ला उत्पादन अहिले एकतिहाई घाटा छ , मासुको मुल्य पनि उपभोग पनि बढ्न सकेको छैन उनले भने, अण्डाको बजारभने सन्तोषजनकनै छ । उपभोक्ताको संख्याको तुलनामा ह्याचरी, दाना, पोल्ट्री फार्मको संख्यामा बृद्धि हुंँदै जाँदा पोल्ट्रीजन्य बस्तुको बजार अस्तव्यस्त रहेको उनको भनाई छ ।
हाल नेपालमा ३५० वटा ह्याचरी उद्योग रहेका छन । जसबाट हरेक सातामा ३० देखि ३५ लाख ब्रोइलर चल्ला मात्र उत्पादन हुन्छ भने लेयर चल्ला प्रत्येक हप्ता दुईलाख वटा उत्पादन हुंँदै आएको छ । यस्तै १२७ वटा दाना उद्योगमा ८० विलियन लगानी भएको तथ्यांक छ भने यी उद्योगको प्रतिदिन उत्पादन क्षमता सांँढे १२ हजार मेट्रिक टन उत्पादन क्षमता भएपनि दैनिक यी उद्योगहरुबाट ४हजार मेट्रिक टन दाना उत्पादन हुंँदै आएको छ ।