चितवन – भरतपुर फुटबल क्लब (बिएफसी) र केबिए ग्लोबल एजुकेशन एण्ड माईग्रेसनबीच प्रायोजन सम्झौता भएको छ । भरतपुरमा आज (बुधबार) आयोजित कार्यक्रमकाबीच बिएफसी र नारायणगढको लायन्सचोकस्थित केबिए ग्लोबलबीच तीन वर्षका लागि सम्झौता भएको हो ।
सम्झौतापत्रमा क्लबका तर्फबाट अध्यक्ष लालबहादुर गुरुङ र संस्थाका तर्फबाट सिईओ शम्भु कँडेलले हस्ताक्षर गरे । सम्झौता पश्चात् अब क्लबको नाम केबिए ग्लोबल भरतपुर फुटबल क्लब भएको छ ।
सम्झौता अनुसार केबिए ग्लोबलले क्लबलाई बार्षिक आठ लाख उपलब्ध गराउनेछ । बिएफसीले आगामी तीन वर्षसम्म सहभागी हुने सबै प्रतियोगितामा केबिए ग्लोबलको किट प्रयोग गर्नेछ ।
राष्ट्रिय स्तरको प्रतियोगितामा बिएफसीको सहभागितालाई थप शशक्त बनाउनका लागि प्रायोजन सम्झौता गरिएको केबिए ग्लोबलका सिईओ शम्भु कँडेलले बताए ।
पछिल्लो समय फुटबल लगायतका खेलकुदमा कर्पोरेट हाउसहरुको लगानीले सकारात्मक आशा देखाएको चितवन जिल्ला फुटबल संघका महासचिव रामजी ढकालले बताए । उनले राष्ट्रिय प्रतियोगिताहरु उत्कृष्ट प्रदर्शन गर्दै आएको बिएसफीको सहभागिता थप शशक्त हुने विश्वास व्यक्त गरे ।
क्लबका उपाध्यक्ष एवं प्रशिक्षक धुर्व भुसालले बिएसफीले अभिभावक पाएको भन्दै खुसी व्यक्त गरे । उनले आगामी दिनमा थप मेहेनत गर्ने बताए । उनले यो मफोसलकै ठूलो धन राशीको सम्झौता प्रायोजन भएको दाबी समेत गरे । क्लबका सचिव रोमस पाण्डेले केबिए ग्लोबलसँगको सम्झौताले थप हौसला मिलेको बताए ।
आज नै क्लबको नयाँ जर्सी समेत सार्वजनिक गरिएको छ । मुख्य प्रायोजक केबिए ग्लोबल लेखिएको क्लबको नयाँ जर्सी सार्वजनिक गरिएको हो ।
२०५८ सालमा स्थापित क्लबले देशभरका प्रतियोगितामा शशक्त सहभागिता जनाउदै आएको छ। बिएफसी हालै मात्र सम्पन्न सि डिभिजन छनोटमा चितवनबाट सहभागी हुने एक मात्र क्लब हो ।