चितवन । नेपाली काँग्रेसको स्थापना पछि अहिलेसम्म केन्द्रीय सदस्य नपाएको चितवनबाट यस पटक केन्द्रिय सदस्य जित्ने उद्देश्यका साथ जिल्ला सभापति जीतनारायण श्रेष्ठ प्रचार प्रसार अभियानमा जुट्नु भएको छ । प्रदेशमा पार्टीको निर्वाचन भईरहँदा निर्वाचन भएका सबै प्रदेशमा केन्द्रीय सदस्यमा श्रेष्ठलाई निर्वाचित गराउन उहाँ र उहाँका प्रतिनिधि पुगेका हुन् ।
श्रेष्ठले बागमती प्रदेशमा प्रचारको नेतृत्व आफैले गर्नुभयो भने अन्य प्रदेशमा उहाँका प्रतिनिधिहरु पुगेर प्रचारप्रसार गरेका थिए । गण्डकी प्रदेशको अधिवेशनमा श्रेष्ठको प्रचार गर्न पुग्नु भएका भिष्म अधिकारीका अनुसार त्यहाँ चार वटा ब्यानर टाँगेर दुई हजारभन्दा बढीलाई केन्द्रीय सदस्यमा श्रेष्ठलाई जिताउन मत मागिएको थियो । अधिकारीको समूहले कार्ड वितरण गर्दै भोट मागेको थियो ।
श्रेष्ठको प्रचारका लागि प्रदेश नं. १ को विराटनगर पुगेको टोलीले प्रदेश अधिवेशन स्थल वरपर चार वटा ब्यानर टाँगेर प्रचार सामाग्री वितरण गरेको थियो । सभापति श्रेष्ठले अधिवेशन भएका सबै प्रदेशका स्थलहरुमा प्रतिनिधिहरुले व्यानर टाँगेर कार्ड वितरण गरेको बताउनुभयो । उहाँले भन्नुभयो “चितवनबाट मेरो उम्मेदवारी केन्द्रीय सदस्यमा छ भन्ने जानकारी दिन म र साथीहरु जुटेका हौं ।”
श्रेष्ठले जनजातितर्फ खुल्ला केन्द्रीय सदस्यमा उम्मेदवारी दिंदै हुनुहुन्छ । जिल्ला सभापतिमा देशकै कान्छो सभापतिका रुपमा परिचित श्रेष्ठ लोकप्रिय युवा नेताका रुपमा चिनिनुहुन्छ । प्रखर वक्ता श्रेष्ठ द्वन्द्वकालमा जिल्लाको सबैभन्दा बढी प्रभावित शक्तिखोरमा तत्कालिन माओवादीहरुसँग भिड्दै राजनीतिक यात्रामा अघि बढ्नु भएको हो ।
संस्थापन इतर पक्षका सभापतिहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका श्रेष्ठले केही दिन अघि यहाँ उम्मेदवारी घोषणा गर्दा जिल्लाका एक हजार नेता तथा कार्यकर्ताको उपस्थिति थियो । नेपाली कांग्रेसको आसन्न जिल्ला अधिवेशनमा उम्मेदवारीको दावी गरेकाहरु र पूर्व सभापतिहरुको घोषणा सभामा उपस्थिति रहेको थियो । जिल्लाले ७५ वर्षसम्म केन्द्रीय सदस्य नपाएकाले यस पटक पाउने आफू विश्वस्त रहेको उहाँको भनाई छ ।