काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ ।
पार्टीको निर्वाचन समितिका सदस्य राजु बस्नेतका अनुसार राति साढे ९ बजेसम्म चार हजार मत खसेको छ । बीचमा केही ढिलो भएको मतदान पुनः चाँडो हुन थालेको बस्नेतले बताए ।
शनिबार बिहानैदेखि मतदान हुने भनिए पनि ढिलो गरी मध्याह्न १२ बजेदेखि मात्र सुरु भएको थियो । अध्यक्षका लागि कागजी मतपत्र र अरू उमेदवारका लागि विद्युतीय भोटिङ मेसिनको प्रयोग गरिएको छ ।
काठमाडौंको भृकुटीमन्डपमा जारी महाधिवेशनमा कुल चार हजार ४६९ मतदाता रहेको निर्वाचन समितिले जनाएको छ ।
राति १० बजेसम्म मतदानको समय निर्धारण गरिए पनि लम्बिने भएको छ ।
पार्टीको १९९ सदस्यीय कार्यसमिति बन्नेछ । जसमा अध्यक्ष, तीन उपाध्यक्ष, तीन महामन्त्री र केन्द्रीय सदस्य प्रत्यक्ष निर्वाचित हुनेछन् । तीन उपाध्यक्ष, तीन महामन्त्री, सात सहमहामन्त्री, सात सहायक महामन्त्री र एक कोषाध्यक्ष अध्यक्षले मनोनयन गर्न पाउने विधानमा व्यवस्था छ ।