नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय कमिटीको पदाधिकारी तथा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेको नेताहरु अन्यौलमा परेका छन् ।
उम्मेदवारी घोषणा गरेर भित्रभित्रै भोट माग्न व्यस्त रहेका नेताहरु निर्वाचन हुने वा नहुने भन्ने विषयमा अन्यौलमा परेका हुन । शुक्रवार राती बसेको केन्द्रीय कमिटीको बैठकले महमतिमा कमिटी गठन गर्ने गरी केन्द्रीय कमिटीको आकार बढाएपछि उम्मेदवार घोषणा गरेका प्रतिनिधिहरु अन्यौलमा परेका हुन ।
उम्मेदवारी घोषणा गरेका उम्मेदवारहरुले बन्दसत्र स्थलमा खुलेर भोट माग्न सकेका छैनन् । अहिले सम्म कुनै पनि नेताले चुनावी प्रचार सामाग्री वितरण गर्ने आट गरेका छैनन् । १० बजे हुने भनिएको बन्दसत्र अझै १२ बजिसक्दा पनि सुरु भएको छैन् । बन्दसत्रमा सम्बोधन, समसामयिक राजनीतिक प्रस्ताव पेस र पारित भएसँगै निर्वाचन प्रक्रिया सुरु हुनेछ ।
निर्वाचन सञ्चालनका लागि बन्दसत्रबाटै ‘निर्वाचन आयोग’ गठन हुनेछ । बन्द सत्र समाप्त भएपछि त्यसलगत्तै निर्वाचन प्रक्रिया अन्तर्गत मनोनयन पत्र दर्ता, दाबी/विरोध र अन्तिम नामावली प्रकाशन लगायतका काम साँझ ५ बजेसम्म सम्पन्न भइसक्ने कार्यतालिका सार्वजनिक गरिएको भएपनि अहिले सम्म बन्दसत्र सुरु नहुँदा अन्यौलता छाएको हो ।