बदलिंदो जीवनशैली र सूचना प्रविधिको बढ्दो प्रयोगसँगै नेपालमा केही वर्ष यता व्यापार व्यवसाय गर्ने तरीका पनि निकै बदलिएको छ । खुशीको कुरा यस्ता नविनतम् सोच सहितका व्यवसाय र प्रविधियुक्त बजारमा युवाहरुको जमातनै बढी छ । भूमण्डलीकरणका कारण अन्तराष्ट्रिय रुपमा भ्रमण तथा अध्ययनको अवसरका कारण बढ्दो ‘एक्सपोजर’को कारण पनि नयाँ पुस्ताले यस्ता नयाँ सृजनशील व्यवसायमा बढी हात हाल्ने गरेको पाईन्छ । सामाजिक सञ्जालको बढ्दो प्रयोगले पनि मानिसहरुको जीवनशैलीमा निकै ठूलो प्रभाव पारेको छ । देशकै केन्द्र चितवनमा पनि नयाँ अवधारणाका साथ साना–ठूला व्यवसायहरुको संख्या पनि थपिदै गएको छ ।यस्तै आधुनिक सोचका साथ व्यवसाय शुरु गर्ने मध्यमा पर्छन् नारायणगढको पुलचोकको मित्र मार्केटमा ’लुक्स युनिसेक्स सलोन’ सञ्चालनमा ल्याएका देव आर्यन । विगत तीन बर्षदेखि यस व्यवसायलाई नयाँ जीवन शैली सुहाउँदो सेवा र सुविधाका साथ संचालन गर्दै आएका छन् । व्यवस्थापनमा स्नातकोत्तर समेत गरेका आर्यनसँग स्यालोन बजार , सेवा, संभावना , चुनौतिका विषयमा सत्यतथ्य समाचारले गरेको कुराकानीः
तपाईले युनिसेक्स सलोन कुन उद्धेश्यले कहिले सञ्चालनमा ल्याउनु भयो ?
यो व्यवसाय सानो र मानिसहरुको नजरमा खासै नपरेको व्यवसाय हो । तर पनि मैले पछिल्लो समय यो व्यवसायको प्रशस्त संभावना देखें । मानिसको व्यस्त र आधुनिक जीवनशैलीले गर्दा नयाँ सेवा र ‘स्मार्टनेस’ बन्ने गरेको देखिन्छ । यस्तै माग पुरा गर्न यस व्यवसायमा पनि फड्को मार्न सकिन्छ भन्ने उद्धेश्यले आजभन्दा ३ बर्ष अघि यो व्यवसाय सञ्चालनमा ल्याएको हुँ।
तपाई जस्तो पढेलेखेको युवाका लागि अरुपनि प्रशस्त विकल्पहरुले थिए । यही व्यवसायनै अंगाल्नुको कारण के थियो ?
हामी नेपालीहरुको बानी जसले जे गर्यो अरुले पनि त्यही व्यवसाय गर्ने बानी छ । तर मेरो दृष्टिकोण विचार अलि फरक छ । लगानी कम हुने, प्रतिफल बढी हुने त्यही प्रकारको व्यवसायमा काम गर्ने म मा ईच्छा थियो पहिले देखिनै। मैले यही नारायणगढको बालकुमारी क्याम्सबाट मेनेज्मेण्टमा मास्टर्स डिग्री गरेपछि केही काम गर्ने ईच्छा पलायो । अरुको काम गरेर तलब थाप्नुभन्दा आफूले केही गर्दा थप उर्जा र प्रगति गर्न सकिन्छ भन्ने मेरो मनमा आयो । सूचना प्रविधिको विकाससँगै युवाहरुले ‘स्टार्टअप’ विजनेश गरेर स्थापित भएको पनि देखें । तर मलाई ग्रुप विजनेशमा काम गर्ने ईच्छा हुँदा हुँदै पनि राम्रो टिम पाउन सकेको थिइन । फलस्वरुप म यो सलोन व्यवसायतर्फ आकर्षित भएँ।
सलोनको बजार कस्तो पाउनु भएको छ ?
यसको बजार हिजो पनि राम्रो थियो, आज पनि राम्रो छ, भोली पनि राम्रो संभावना छ । यसमा मैले ग्राहकको पनि उत्तिकै आकर्षण भएको पाएको छु ।
बिशेषगरी भारतीय मुल र मधेशी समुदायले अँंगाल्दै आएको यो व्यवसायमा हामी पहाडी मुलका युवाले पनि यस व्यवसायमा हात हाल्दै आएका छन् । यो व्यवसाय मानिसहरुको दैनिकी दिनचर्यासँग प्रत्यक्ष सम्बन्धित पनि छ ।जसरी विभिन्न पोशाक, कपडाका डिजाईन, फेशन र ब्राण्डलाई फ्लोअप संस्कृतिलाई पछ्याउने गरिएको छ त्यस्तै कपाल, दारी काट्नु आफूलाई टिपटप राख्नु पनि व्यत्तित्व झल्कने विषय बनेको छ । हिजोका दिनहरु परम्परागत शैलीबाट गुज्रिएपनि पछिल्लो समय मानिसहरु आधुनिकता तिर लम्किदै गएका छन् । देश विदेश भ्रमणबाट धेरै कुरा सिकेका छन् । जसले गर्दा थप बजार सिर्जना गरेको छ । अझैपनि मानिसहरुको माग र चाहना , स्थानहरु अनुसार बजार पुर्याउन सकिएको छैन । केही सिमित शहरहरु र स्थान बिशेषमा मात्र आधुनिक सुविधा सहितका सलोनहरु सञ्चालनमा छन् । त्यसले गर्दा ग्राहकले अझैपनि सहजरुपमा सेवा पाउन सकिरहेका छैनन् । यसले के देखाउँछ भने सलोनको बजार अझै निकै विस्तार गर्न सकिन्छ ।
बजारमा पार्लर , सलोनहरु संचालनमा पनि छन् । तर तपाईको सलोन र अरु सैलुनमा के फरक छ ?
अहिलेको प्रतिस्पर्धाको बजारमा केही सेवासुविधामा फरक नगरी नयाँ खोलिएका पसलमा ग्राहकलाई तान्न सकिदैन । अर्को कुरा विजनेशमा स्थान विशेष र मूल्य, शुल्क र दरले पनि महत्वपुर्ण भूमिका खेलेको हुन्छ । यो सलुन अति व्यस्त नारायणगढको पुलचोक नजिकै रहेकाले यो बाटो हिड्ने जो कोहीले पनि सजिलै सेवा पाउन सक्छन । अर्को कुरा चितवन हरेक किसिमको हब हो अनि इर्मजिङ्ग सिटीको रुपमा विकसित भईरहको शहर पनि रहेकाले हामीले समयको माग र ग्राहकको चाहना बमोजिम सेवा दिंदै जानुपर्छ । यो एउटा व्यत्तित्व र सौन्दर्यमा जोडिने बिषय पनि भएकोले त्यसतर्फ हाम्रो बिशेष ध्यान छ । यो शहरमा कतिपय ग्राहकहरु राम्रो सेवा सुविधा तथा हेयर डिजाइनरको खोजीमा हुनुहुन्छ । सबै प्रकारका सुविधा एकै ठाउँमा दिन सकिन्छ भन्ने उद्धेश्यले मैले यो सलोन सञ्चालनमा ल्याएको हो । बिशेषगरी उद्योगी व्यवसायी, कलाकार, पेशाकर्मी एवं युवा जमातलाई लक्षित गर्दै सलोन सञ्चालनमा ल्याईएको हुनाले यो अरु भन्दा फरक छ । अर्को कुरा यहाँको शुल्क पनि अरु सलोन भन्दा सस्तो छ । हरेक क्षेत्र , हरेक सामान सुविधाको शुल्क र मुल्य बढिरहेका बेला हामीले अझैपनि कपाल काटेको सय रुपैंया र दाढी काटेको ५० रुपैयाँ लिने गरेका छौं । अन्य सेवा सुविधामा पनि हामीले न्यून शुल्क लिएर सेवा दिदै आएका छौं । दक्ष कालिगढ , तालिमप्राप्त व्युटिसियनले सेवा दिने हुँदा यो अन्य भन्दा फरक छ ।मेरो उद्धेश्य नाफा कमाउनु मात्र नभएको हुनाले पनि यो अरुभन्दा यो सैलुन फरक ढंगले चलेको छ ।
तपाइँले दिने सेवाहरु कस्ता छन् ?
साधारणतया अधिकांश सलोनहरुमा कपाल काट्ने, दाढी काट्ने रंगाउने र फेसवास सम्मका सुविधाहरु छन । तर हाम्रोमा यतिमात्र होइन । जेन्ट्स तथा लेडिजका लागि सबै प्रकारका सुविधाहरु हामीले एकै स्थानबाट दिएका छौं । जस्तो यहाँ फेसियल, मसाज, मेडिकेयर, पेडिकियर, स्कीन केयर लगायत ब्राइडल मेकअपका सुविधाहरु छन् । शान्त वातानुकुलित र संगीतमय वातावरण , आरामदायी कुर्सीमा ग्राहकले आफूले चाहेको समयमै गुणस्तरीय सेवा सुविधा लिन सक्छन । हामीले ग्राहकको व्यक्तित्व , शरीरको ढाँचा र अनुहार स्वरुप अनुसारको हेयर डिजाइन, कलरिङ्ग र श्रृंगारका सुविधा पनि दिंदै आएका छौं ।
यस क्षेत्रमा के कस्ता चुनौति समस्या देख्नु भएको छ ?
जुनसुकै क्षेत्रमा पनि कुनै न कुनै समस्या र चुनौति हुन्छन नै । तर यो व्यवसायमा मुख्य समस्या भनेको जनशक्ति अभाव हो । दक्ष जनशक्ति नहुनु, भारतबाट जनशक्ति ल्याउनु पर्ने बाध्यता र नेपाली युवाहरु यस व्यवसायमा त्यति आकर्षित नहुनु प्रमुख चुनौति हुन् । अर्कोकुरा राज्यको आँखा यस व्यवासयको महत्व तर्फ परेको देखिदैन । यस्ता स्वरोजगार व्यवसाय प्रति राज्यले प्रोत्साहित गर्न सकेको छैन । समाजले पनि यो व्यवसायप्रति हेर्ने दृष्टिकोण फरक छ । शुल्कमा समानता छैन । अस्वस्थ प्रतिस्पर्धा छ । यी समस्याका कारण व्यवसाय स्थापित हुन सकिरहेको छैन ।
तपाईको भावी योजना के के छन् ?
मेरो भविष्यको योजना भनेको अन्य शहर र स्थानहरुमा यसको शाखा विस्तारसँगै केही रोजगारी सिर्जना गर्ने छ । निकट भविष्यमा नै मैले अर्को ठाउँमा शाखा विस्तार गर्दैछु ।जनशक्ति सिर्जना गर्नको लागि मैले ईच्छुक युवाहरुलाई तालिम दिनपनि शुरु गरेको छु । जति रोजगारी उत्पादन भयो त्यति नै यस क्षेत्रले गतिलिन्छ । भारतबाट आएर सयौं भारतीयले यो व्यवसाय सञ्चालन गरेर करोडौं रुपैयाँ विदेशिएकोले स्वदेशको पैसा स्वदेशमै रहोस भन्ने मेरो ईच्छा हो । त्यसैले कोही युवा, युवतीहरु आफै स्वरोजगार बन्न चाहन्छन भने म सबै किसिमका लागि तालिम दिन तयार छु । यसको लागि आउन समेत आग्रह गर्छु ।
तपाईं यो व्यवसायमा मात्रै हुनुहुन्छ कि अन्य केही पेशा व्यवसायमा पनि संलग्न हुनुहुन्छ ?
म सानै देखि कलाकारिता क्षेत्र मनपराउने मान्छे । यसप्रति मेरो लगाव पनि छ । त्यसैले मैले मेरो फुर्सदको समय कलाकारिता क्षेत्रमा दिंदै आएको छु । अझ भनौ भने व्यवसाय र कलाकारिता क्षेत्रलाई सँगै लगेको छु । कलाकारिता क्षेत्र मेरो प्यासन हो भने, स्यालोन व्यवसाय मेरो प्रोफेसन हो । त्यसैले पनि केही म्युजिक भिडीयो, वेव सिरिजमा अभिनय गरेको छु र केही म्युजिक भिडियो रिलिज हुने क्रममा छन् ।
अन्त्यमा, तपाई जस्तो युवाले काम र मामको लागि भौतारिएर विदेशिएका युवालाई के सन्देश दिन चाहनुहुन्छ ?
म त भन्छु तपाई पैसानै कमाउनको लागि विदेश जानु पर्दैन । ईच्छाशक्ति , मेहनत , लगाव भए विदेशभन्दा बढी यहीं बढी कमाउन सकिन्छ । समाजमा तपाईको अलग्गै मुल्यांकन र पहिचान पनि हुन्छ । तर यसको लागि सीप र क्षमता , इमान्दारिता अपरिहार्य छ । चाहे विदेशमा जाने युवा हु्न् या यहीं पनि वेरोजगार बस्ने युवाहरु हुन् । कुनै कुनै उद्यमशील काम गर्न शुरु गर्नुहोस् । सफलता एक दिन न एक दिन हात लाग्छ । आफ्नो उत्पादनशील अमूल्य समय खेर नफाल्नुस ।