चितवन । चितवनको सौराहामा पर्यटनको जग बसाउन महत्वपूर्ण योगदान पुर्याएका सफल पर्यटन व्यवसायी हुन् हरिभक्त घिमिरे । तनहुँ जिल्लाको म्याग्दे गाउँमा जन्मिएर चितवनलाई कर्मभूमि बनाएका घिमिरेले आफ्नो व्यवसायसँगै काँग्रेसी राजनीतिलाई सँगसँगै अघि बढाए ।
अहिलेको काग्रेस चौधौँ महाधिवेशनमा चितवन क्षेत्र नं १ बाट खुला महाधिवेशन प्रतिनिधिका उम्मेदवार हुन् । विसं २०२४ सालमा पूर्वी चितवनको विरेन्द्रनगरमा बसाईँ सरेर आएका उनले २०२८ मा नेपाली काँग्रेसको साधारण सदस्यता लिएका थिए । चितवनमै विद्यार्थी जीवनबाट नेपाल विद्यार्थी संघ हुँदै राजनीतिमा सरिक भएका थिए उनी ।
शुरुदेखि नै गाउँ र नगरका विविध पार्टी गतिविधिमा सक्रिय रहे । बीचको केही समय राजनीतिसँगै शैक्षिक पेसा अपनाए पनि २०४२ सालदेखि भने उनले सौराहामा होटल व्यवसायतर्फ आफ्नो पाइला अघि बढाए । घिमिरेले विसं २०५४ सालमा तत्कालीन बछ्यौली गाविसमा चुनाव जितेर उपाध्यक्ष बने । बछौली माविमा अध्यक्षसहित झुवानी मावि, मालपुर माविको सदस्यसमेत भएर अनुभव लिएका छन् उनले ।
सौराहास्थित युनिक बचत तथा ऋण सहकारी संस्थामा छ वर्ष अध्यक्ष र छ वर्ष उपाध्यक्षसहित १२ वर्षको कार्यकाल सम्हालेका थिए उनले । क्षेत्रीय होटल संघमा प्रथम उपाध्यक्ष भएर ६ बर्ष चलाउँदा पनि कार्यकारी भूमिका जस्तै थियो उनको । त्यसपछि अध्यक्ष भएर पनि पर्यटन क्षेत्रलाई चलायमान बनाउने काम गरे ।
त्यसयता पार्टीलाई बढीजसो बाहिरबाट सघाउँदै आउँदा घिमिरेले राजनीतिकभन्दा व्यावसायिक छवि उँचो बनाए । तथापि पार्टीलाई आवश्यक पर्दा हरहमेसा अगाडि बढाउन भने छाडेनन् । क्षेत्रीय होटल संघ सौराहाको अध्यक्ष, स्थानीय बछ्यौली माविको विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित अन्य विद्यालयको सञ्चालक समितिका विभिन्न पदमा काम गरेका उनी विसं २०४० सालदेखि सौराहामा कर्म क्षेत्र बनाएका हुन् ।
विसं २०४२ सालबाट नै उनले सहपाठी रामकुमार अर्यालसँग सौराहामा पर्यटन व्यवसाय अघि बढाएका हुन् । त्यो बेलाको शिक्षक पेशा छाडेर उनले पर्यटन व्यवसाय रोजेका थिए । त्यसबेला सौराहामा भर्खर पर्यटन व्यवसायको बीउ रोपिएको थियो । त्यो बीउ रोप्नेमा घिमिरेको नाम पनि जोडिएर आउँछ ।
पर्यटन व्यवसायमा खारिएका घिमिरे अबको बाँकी जीवन राजनीतिमा बिताएर पार्टीलाई समय दिने उद्देश्यका साथ चितवन क्षेत्र नम्बर १ मा महाधिवेशन प्रतिनिधिमा खुलातर्फको उम्मेदवारी दिएको उनले बताए । जिम्मेवारी पायो भने इमानदारपूर्वक निर्वाह गर्ने क्षमता आफूमा रहेको उनी दावी गर्छन् ।
नेपाली काँग्रेसमा हाल जारी रहेको गतिविधि प्रति आफूलाई मात्र नभएर आम कार्यकर्तालाई त्यति राम्रो नलागेको उनी सुनाउँछन् । पार्टीमा भएको विसंगतिलाई हटाउने सोचका साथ बाँकी जीवन पार्टीलाई दिने भनेर लागेको उनले सुनाए । “पार्टीबाट जिम्मेवारी पाएँ भने इमान्दारपूर्वक निर्वाह गर्छु”, उनले भने, पार्टीमा कुनै गुट उपगुट देखियो भने रत्ननगरबाट निमिट्यान्न पार्दै अघि बढ्छु ।”
हाल केटाकेटी घर नेपाल सौराहाको अध्यक्ष रहेका घिमिरे गएको चुनावमा भने नाम प्रस्ताव भए पनि टिकट पाएनन् । घिमिरेले विकास निर्माण तथा जनताको सेवामा लाग्ने भनेर पार्टीमा अरुलाई छाडेर तत्कालिन गाविस र नगरतिर नै बढी सक्रियता बढाएका बताए । पार्टी र विकास निर्माण क्षेत्रमा एकै व्यक्तिले हात हाल्न हुन्न भनेर पार्टीतर्फ नगएको उनले खुलाए । पार्टीमा सदस्य लिएको ५१ वर्ष भइसकेकाले अब पूर्ण रुपमा पार्टीलाई समय दिनका लागि महाधिवेशन प्रतिनिधिमा उठेको र सबैको साथ पाउने आशा रहेको पनि उनले बताए ।