चितवन । झण्डै दुईबर्षको कोरोना कहरको अन्तरालपछि चितवनमा अन्तरराष्ट्रिय औद्योगिक प्रर्दशनी हुने भएको छ ।
उद्यमशीलता विकास र औद्योगिक उत्पादकत्व अभिवृद्धि गर्ने उद्देश्यले चितवन एक्स्पो सेन्टर भरतपुरमा छैंठौं चितवन अन्तरराष्ट्रिय औद्योगिक प्रर्दशनी हुने भएको हो । चितवन उद्योग संघ र संघको केन्द्रीय छाता संस्था नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा आगामी पुस २ देखि ४ गतेसम्म ‘छैठौँ चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रर्दशनी–२०७८’ आयोजना हुने भएको हो ।
प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी २०० भन्दा बढी स्टलहरु रहने छन् । जसमध्ये लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रको सिफारिसमा लघु, घरेलु तथा साना उद्यमी र महिला उद्यमीका लागि ३० वटा निःशुल्क स्टलको व्यवस्था गरिएको छ ।
उद्योग क्षेत्रमा भित्रिएका नयाँ प्रविधि हस्तान्तरण गर्ने, नेपाली उत्पादनहरुको बजारीकरणका लागि सहज गर्न र नयाँ उद्योग खोल्न चाहनेलाई आकर्षण गर्नका लागि सो प्रर्दशनी गर्न लागिएको चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिए । कोरोनाका कारण दर्जनौं यस्ता प्रर्दशनीहरुको
बुकिङ्ग भएको भएपनि सञ्चालन गर्न नसकिएको भन्दै उनले कोरोना कहर मत्थर हुंँदै जांँदा पुनः यस्ता प्रर्दशनीलाई निरन्तरता दिन लागिएको बताए ।
प्रदर्शनीमा उत्कृष्ट हुने लघु, घरेलु तथा साना उद्यमीहरुलाई प्रवद्र्धन केन्द्रको तर्फबाट पुरस्कार तथा सम्मानको व्यवस्था गरिने भएको छ । यसैगरी प्रदर्शनीमा राष्ट्रिय आविष्कार केन्द्रले आविष्कार गरेका औद्योगिक उपकरणहरुको समेत प्रदर्शनी हुनेछ ।
उद्योगी र उद्यमीहरुलाई चेपुवामा पार्ने परम्पराको अन्त्य गर्दै आफूले सकेको उद्यम गरेर देशको सेवा गर्न यस्ता खालका प्रर्दशनीहरु आयोजना हुने गरेको केन्द्रका अध्यक्ष महावीर पुनले बताए । उनले देशको सेवाका लागि केही योगदान गर्न सकिन्छ भनेर आफूहरुले पनि सो प्रर्दशनीमा भाग लिने निर्णय गरेको बताए ।
प्रर्दशनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । लघु, घरेलु तथा साना उद्योगहरुलाई सहज र किफायती बनाउन मद्दत पु¥याउने स–साना औजार, मेसिनदेखि ठूला उद्योगका अत्याधुनिक यन्त्र, उपकरणहरु र पूर्वाधार निर्माणमा प्रयोग हुने यन्त्र उपकरणहरु पनि प्रर्दशनीमा राखिने छ ।
प्रर्दशनीलाई सफल बनाउन नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, बागमती प्रदेश उद्योग, पर्यटन तथा वातावरण मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, राष्ट्रिय आविष्कार केन्द्र, नेपाल घरेलु तथा साना उद्योग महासंघ, चितवनका स्थानीय तहका संघ, संस्थाहरुको पनि सहयोगी भूमिका रहने बताईएको छ ।