रोम । इटलीको राजधानी रोममा शनिबारदेखि जी २० को शिखर सम्मेलन सुरु भएको छ । आइतबारसम्म चल्ने दुईदिने सम्मेलनमा विश्वका प्रभावशाली मुलुकसहित १९ देश र युरोपेली संघका प्रतिनिधिहरू सहभागी भएका छन् ।
सम्मेलनमा भौतिक रूपमै वा भर्चुअल माध्यमबाट सहभागी हुन मिल्ने व्यवस्था गरिएको छ । सोही व्यवस्था अनुसार चीनका राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायत केही शीर्ष नेताहरू भने भर्चुअल माध्यमबाट सहभागी भएका छन् ।
कोरोनाभाइरसको महामारीका कारण आफूहरू सम्मेलनमा भौतिक रूपमा उपस्थित हुन नसकेको बैठकस्थलमा नगएका नेताहरूले स्पष्ट पारेका छन् ।
सम्मेलनमा विशेषगरी जलवायु परिवर्तन, कोरोनाभाइरसको महामारी, पुरानै अवस्थामा फर्किने प्रयासलगायत विषयमा छलफल भइहेको जनाइएको छ ।
सम्मेलनको पहिलो दिनको पहिलो सत्रमा ‘विश्व अर्थतन्त्र र विश्व स्वास्थ्य’ शीर्षकमा छलफलकेन्द्रित भएको थियो । त्यसैगरी, दोस्रो दिन आइतबार ‘जलवायु परिवर्तन र वातावरण’ र ‘दिगो विकास’मा केन्द्रित छलफल हुने जनाइएको छ ।
सम्मेलनको नेतृत्व सम्मेलन आयोजक मुलुक इटलीका राष्ट्रपति मारियो ड्राघीले गरेका छन् । सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, “हामीले यो महामारीभन्दा अगाडिका सम्मेलनमा राष्ट्रियता, संरक्षणवाद र एकपक्षीयवादमा छलफल गर्ने गरेका थियौँ, तर अहिले सबैको साझा समस्या र चुनौतीका बारेमा छलफल गर्नुपरेको छ ।”
कुनै देश तथा क्षेत्र विशेषमा छलफल गरेर वा कुनै देश विशेषले मात्रै लड्न नसक्ने भएकाले साझा चुनौतीका बारेमा विचार गर्नुपरेको उनले बताए ।
अन्तर्राष्ट्रियस्तरमा आर्थिक सहकार्य र सहयोगका लागि भन्दै जी २० शिखर सम्मेलनको सुरुवात सन् १९९९ मा भएको हो । जी २० अन्तर्गत अर्जेन्टिना, अष्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, जर्मनी, फ्रान्स, भारत, इन्डोनेसिया, इटली, जापान, मेक्सिको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, दक्षिण कोरिया, टर्की, बेलायत, अमेरिका र युरोपेली संघ पर्दछन् । रासस/सिन्ह्वा