बेइजिङ । चीनले ४० लाख मानिस बसोबास गर्ने सहर लान्जोउमा मंगलबार ‘लकडाउन’ जारी गरेको छ । कोरोनाको स्थानीय संक्रमण लगातार वृद्धि भएपछि यस्तो उपाय अपनाइएको हो । अहिले त्यहाँका वासिन्दालाई आपत्कालीन अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन भनिएको छ ।
चीनले सुरुवातदेखि नै भाइरस नियन्त्रण गर्न सिमाना र देशभित्रै पनि एकदमै कडाइ गर्दै आएको छ । मंगलबार चीनमा २९ नयाँ संक्रमित भेटिएको थियो । जसमा ६ नयाँ बिरामी लान्जोउबाट रहेको बताइएको छ । यस्तोमा लान्जोउका वासिन्दालाई सरकारले घरैमा बस्न निर्देशन दिइसकेको छ ।
चीनमा हाल फैलिरहेको भाइरस डेल्टा भेरियन्ट भएकाले पनि चिन्ताजनक मानिएको हो । यही अक्टोबर १७ पछि त्यहाँ १९८ जनामा संक्रमण फैलिइसकेको छ । स्वास्थ्यविद्हरूले संक्रमितको संख्या अझै बढ्न सक्ने चेतावनी दिँदै परीक्षणलाई तीव्र पारिरहेका छन् । यी सबै नयाँ संक्रमण स्थानीय पर्यटनको समूहसँग सम्बन्धित रहेको बताइएको छ । त्यसैले पनि उत्तरी चीनमा दशौँ हजार मानिसलाई अनिवार्य घरमै बस्न भनेर कडा आदेश दिइएको छ ।
राजधानी बेइजिङमा भने मंगलबार तीन नयाँ संक्रमित फेलापरेका छन् । यस्तोमा पर्यटकीयस्थलहरूलाई सीमित गर्न लागिएको छ । स्थानीयलाई अति आवश्यक कामबाहेक सहर नछाड्न आग्रह गरिएको छ ।
त्यस्तै, कतिपय हाउजिङ क्षेत्रहरूमा पनि लकडाउन जारी गरिएको छ । आइतबार बढ्दो संक्रमणकै कारण तीस हजार बढी खेलाडी सहभागी हुने म्याराथन स्थगित गरिएको थियो ।
बाँकी विश्वसँग तुलना गर्दा चीनको संक्रमणदर अत्यन्तै थोरै लागे पनि चीनले महामारीको सुरुवातदेखि नै शून्य संक्रमण नीति अपनाउँदै आएको छ ।
त्यसैगरी, अब १०० दिन मात्र बाँकी रहेको जाडोयामको ओलम्पिक्सको तयारीका लागि भनेर पनि निकायहरू संक्रमण नियन्त्रण गर्न समर्पित भएर लागेका छन् । एनडीटीभीबाट ।