चितवन । भैंसीपालनको विकास र सवलीकरणको लागि चितवनमा चार दिने भैंसी सम्मलेन गरिने भएको छ ।
कृषि तथा वन विश्व विद्यालय रामपुरमा कात्तिक ८ देखि १२ गतेसम्म एसियन बफेलो कङ्रेस गर्न लागिएको हो। आज भरतपुरमा विश्वविद्यालयले पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो ।
अन्तर्राष्ट्रियस्तरमा दशौं पटक मनाउन लागिएको भैंसी सम्मेलन नेपालमा भने पहिलो पटक मनाउन लागिएको हो। यसअघि २०१७ मा विश्व विद्यालयले राष्ट्रिय रुपमा भैंसी सम्मेलन गरेको थियो। भैंसी पशुपालन, व्यवस्थापन, स्वास्थ्य, बजारीकरण र उपयोगिताको विषयमा वैज्ञानिक , अनुसन्धान र प्रसार प्रविधिले भैंसी उत्पादनमा गरिने अनुसन्धानका लागि सम्मेलन केन्द्रित हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
सम्मेलनमा नेपाल, भारत, चाइना, श्रीलंका, पाकिस्तानले आफ्नो देशमा भएको अनुसन्धान , उत्पादनको अवस्था जानकारी गराउने छन। सन २०१८ मा भारतमा भएको भैसीको अनुसन्धानमा केन्द्रित सम्मेलनमा १७ देशका ३५० बैज्ञानिक सहित चार सय पचास जना विज्ञ, प्राध्यापक, कृषक , विद्यालय सहभागी हुने आयोजक समितिका अध्यक्ष प्रा.डा. भुमिनन्द देवकोटाले जानकारी दिए । कोभिडका कारण भौतिक रुपमा सम्मेलन गर्न नमिलेकोले भर्चुअल माध्यमबाट गर्न लागिएको उनले बताए। सम्मेलनले विभिन्न देशका विज्ञहरुसंँग ज्ञान साटासाट हुने हुंँदा नेपालमा नयांँ खोज र उपलब्धीमुलक हुने उनको भनाई छ ।
विश्व विद्यालयका उपकुलपति प्राडा पुण्यप्रसाद रेग्मीले अहिलेको अनुसन्धान र प्रविधिको उद्घोष नेपालबाट गर्ने कुरा गौरवको बिषय रहेको बताए । कृषि अनुसन्धान र एसिया भैसीको लागि महत्वपूर्ण मानिन्छ। भैंसीको कुल सख्याको ९० प्रतिशत भन्दा बढी उत्पादन एसियामा हुन्छ। सम्मेलनमा नेपालमा भैंसी अनुसन्धान केन्द्र स्थापना गर्न नेपालले प्रस्ताव पत्र प्रस्तुत गर्ने प्राडा रेग्मीले जानकारी दिए ।