भरतपुर । भरतपुर महानगरपालिका वडा नम्बर ४ स्थित सिर्जनशील समाज, बैकुण्ठ टोलको आयोजना र क्यान्सर अस्पताल भरतपुरको सहयोगमा आज महिलाहरुको स्तन र पाठेघरको मुखको क्यान्सर परिक्षण गरिएको छ । क्यान्सर सचेतना र क्यान्सर रोग न्यूनिकरण गर्न उद्धेश्य सहित क्यान्सर परीक्षणको आयोजना गरिएको थियो ।
सिर्जनशील समाजका अध्यक्ष टिकाराम सापकोटाको सभापतित्व र संस्थापक अध्यक्ष श्री शिवप्रसाद बरालको प्रमुख आतिथ्यतामा भएको औपचारिक कार्यक्रममा उपाध्यक्ष महेश्वर पोखरेलले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।
सो अवसरमा डा. अस्मीता राणा, नर्सिङ्ग इन्चार्ज अयोध्याकुमारी पाठकले क्यान्सर रोग लाग्ने कारण, क्यान्सर रोगका लक्षण, क्यान्सर रोगको उपचार प्रकृयाका बारेमा अभिमूखिकरण गर्नु भएको थियो । यस्तै वरिष्ठ नर्स तारा दवाडी, मन्जु शर्मा र कल्पना न्यौपानेले महिलाहरुको स्तन र पाठेघरको मुखको क्यान्सर परिक्षण गर्नु भएको थियो ।
कार्यक्रममा ५५ महिलाले क्यान्सर परीक्षण गरेका थिए । असोज ६ गते ६० जनाको परिक्षण भइ सकेको र सो दिन परिक्षण गर्न छुट भएका ५५ जना महिलाहरुको आज परिक्षण गरिएको हो । कार्यक्रमको समापनको अवसरमा प्रमुख अतिथि र सिर्जनशील समाजका अध्यक्ष टिकाराम सापकोटाले क्यान्सर अस्पताललाई कदर पत्र र प्राविधिक रुपमा सहयोग पुरयाउनु हुने डा. अस्मीता राणा, नर्सिङ्ग इन्चार्ज अयोध्याकुमारी पाठक, सिनियर नर्स तारा दवाडी, मन्जु शर्मा र कल्पना न्यौपानलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।
समाजका अध्यक्ष श्री टिकाराम सापकोटाले कार्यक्रम सफल पार्न सहयोग पुरयाउने सवैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको विसर्जन गर्नु भएको थियो । कार्यक्रमको संचालन महासचिव श्री कविता शर्माले गर्नु भएको थियो । कार्यक्रमलाई व्यवस्थित बनाउन सिर्जनशील समाजका कार्यसमितिका पदाधिकारी एंव सदस्यहरु, साधारण सदस्यहरु र टोलबासीहरुको सहयोग तथा सहभागिता रहेको थियो ।