भरतपुर, १७ असोज – किङ्ग फिसर ताल प्रवर्द्धनका लागि टोल बिकास संस्था स्तरीय भेटेरान फुटबल प्रतियोगिता सुरु भएको छ । भरतपुर ६ स्थित नवज्योति सामुदायिक वनको मैदानमा आइतबारबाट भेटेरान फुटबल सुरु भएको हो ।
केपा वाचनालय एव पर्यटन सुचना केन्द्रको आयोजनामा सुरु भएको प्रतियोगिताको भरतपुर महानगर प्रमुख मेयर रेनु दाहालले उद्घाटन गरिन् । प्रतियोगिताको उद्घाटन गर्दै मेयर दाहालले भरतपुरमा भौतिक पूर्वाधारसँगै खेल क्षेत्रको बिकासलाई पनि महानगरले महत्त्व दिएको बताईन् । प्रतियोगिताले तालको प्रवर्द्धनमा सहयोग पुग्ने उनको भनाई थियो ।
भरतपुर ६ का वडाध्यक्ष हरिविलास कोइरालाले वडाको विकासमा किङ फिसर तालको महत्व धेरै रहेको बताए । उनले आगामी दिनमा तालको संरक्षण र विकासका लागि वडाले योजना बनाउने प्रतिवद्धता जनाए ।
प्रतियोगिता अन्तर्गत आइतबार भएको उद्घाटन खेलमा बीस हजारी टोल विकास संस्थाले सहिद स्मृति टोल बिकास संस्थालाई पराजित गरेको छ । बीस हजारी ताल ४–१ गोल अन्तरले बिजयी भएको हो । उद्घाटन खेलमा बीस हजारीका सुशील तिमल्सिना म्यान अफ द म्याच चुनिए ।
यस्तै आज नै सम्पन्न दोस्रो खेलमा वागेश्वरी टोल विकास संस्था बिजयी भएको छ । वागेश्वरीले चोकबजार टोल विकास संस्थालाई २–० गोल अन्तरले पराजित गरेको हो । दोस्रो खेलको म्यान अफ द म्याच वागेश्वरीका अनिल न्यौपाने भए ।
प्रतियोगीतामा १६ टोल विकास संस्थाको सहभागीता रहेको आयोजक केपा वाचनालय का अध्यक्ष पुर्ण प्रसाद प्रसाईले जानकारी दिए । प्रतियोगितामा प्रथम हुनेले ४० किलोको खसी, दोस्रो हुनेले २५ किलोको खसी तथा तेस्रो हुनेले नगद ७ हजार प्राप्त गर्नेछ ।