बीरगंज । बीरगंजको सिर्सिया स्थित सुख्खा बन्दरगाहमा विगत एक बर्ष भन्दा अघि पानीले भिजेर बिग्रिएको अवस्थामा रेल मार्गबाट आई पुगेको मल नष्ट नहुँदा बन्दरगाहमै अलपत्र अवस्थामा रहेको छ ।
साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि सामग्री कम्पनीले मगाएको १ लाख २६ हजार बोरा डीएपी मल बन्दरगाहमा अलपत्र परेको हो । बिग्रिएको मल नष्ट गर्नुपर्ने भए पनि आपूर्तिकर्ता सम्पर्कमा नआएकाले नष्ट गर्न नसकिएको वीरगञ्ज सुक्खा बन्दरगाह भन्सारका प्रमुख भन्सार अधिकृत डा.लालबहादुर खत्रीले बताउनुभयो ।
बिग्रिएको मल अहिले बन्दरगाहमा रेलवे ट्र्याकको खाली जमिनमा मिल्काइएको छ । मल कसरी नष्ट गर्ने भन्ने अन्योल सुख्खा बन्दरगाह भन्सारमा देखिएको छ । बन्दरगाह सञ्चालक प्रिस्टाइन भ्याली ड्राइपोर्ट प्रालिले बिग्रिएको मल बन्दरगाहबाट हटाउन दबाब दिइरहेको छ । आपूर्तिकर्ता सम्पर्कमा नआएपछि भन्सार प्रशासन अन्योलमा परेको छ ।
बिग्रिएको मल नष्ट गर्ने जिम्मेवारी आपूर्तिकर्ता कम्पनीको भए पनि सम्पर्कमा नआएको भन्सार प्रमुख खत्रीले बताउनुभयो । संयुक्त अरब इमिरेट्स दुबईको स्विस सिंगापुर ओभरसिज इन्टरप्राइजेजले मल आपूर्तिको जिम्मा लिएको थियो ।
बिग्रिएको मल मध्ये अधिकांश परिमाण साल्ट ट्रेडिङको हो । ५ हजार मेट्रिक टन साल्ट ट्रेडिङको र बाँकी कृषि सामग्री कम्पनीको थियो । गत वर्ष भदौको पहिलो हप्ता कोलकाता बन्दरगाह हुँदै रेलमार्फत वीरगञ्ज भित्रिएको मल भिजेर बिग्रिएको फेला परेको थियो । ओमानबाट आएको मल त्यति बेला बंगालको खाडीमा आएको अम्फन आँधीका कारण कोलकाता बन्दरगाहमा भिजेको थियो ।
आयात गरिएको मल नेपाल भित्र्याउनै पर्ने नीतिगत व्यवस्थाका कारण आपूर्तिकर्ताले बिग्रिएकै मल वीरगञ्ज ल्याएर छोडिदिएको थियो । साल्ट ट्रेडिङ वीरगञ्जका प्रमुख अमोज लामिछाने मल भिजेर भएको क्षति आपूर्तिकर्ताले नै बेहोरेकाले आर्थिक रूपमा कुनै नोक्सानी नभएको दाबी गर्नुभयो ।
बिग्रिएको मल नष्ट गर्ने दायित्व पनि आपूर्तिकर्ताकै भएको र हाल उनीहरू सम्पर्कमा नहुँदा समस्या परेको लामिछानेले बताउनुभयो ।