चितवन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले ट्राफिक कार्यालयको निरीक्षण गर्नुभएको छ ।
आज विहान अधिकारीले कार्यालयको निरीक्षण गर्दै ट्राफिक कार्यालयका मातहतका ट्राफिक प्रहरी कर्मचारीहरुलाई सेवाग्राहीसंग गर्ने ब्यवहारमा सुधार गरी नागरिक मैत्री व्यवहार गर्न निर्देशन दिनुभयो । प्रहरी नागरिकको साथी भएकाले उनीहरुसँग सभ्य र शिष्ट भाषा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो,‘शिष्ट भाषा तथा नम्र बोलीचालीको प्रयोग गर्ने, नियम विपरित चल्ने सवारी साधनलाई सम्झाई बुझाई गरेर मात्रै कारवाही गर्नुपर्छ ।’ अधिकारीले भन्नुभयो ।
गल्ती गर्नेलाई कारवाही मात्रै गर्दा त्यसले नकरात्मक सन्देश जाने र पुन गल्ती दोहोरिन सक्ने भन्दै उहाँले के कारण गल्ती भयो र कसरी सुधार गर्ने भन्ने समेत बुझाएर मात्र कारवाही गर्नुपर्ने बताउनु भयो । चाडपर्वको समयमा नागरिकसँग बढी घुलमिल हुनुपर्ने भएकाले पनि सभ्य र शिष्ट भाषा प्रयोग गर्न एसपी अधिकारीले सुझाव दिनुभयो ।
त्यस्तै चाडपर्वमा हुने भीडका कारण बजार अस्तव्यस्त हुने हुँदा सवारी व्यवस्थापनमा विशेष ध्यान दिन उहाँले निर्देशन दिनुभयो । साथै ट्राफिक जनचेतनामुलक कार्यक्रम संचालन गर्न समेत उहांँले निर्देशन दिनुभयो ।