चितवन । चितवन राष्ट्रिय निकुञ्जमा पोथी गैंडा मृत फेला परेको छ । आज मध्यान्ह १२ बजे निकुञ्जको धोबा पोष्ट बाट डेढ किलोमिटर दक्षिण पूर्व कोर इलाकाको घांँसे मैदानको रेवा खोलाको किनारमा अन्दाजी १० बर्षको गैंडा मृत फेला परेको निकुञ्जले जनाएको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले फलामको रड घोपिएको अवस्थामा उक्त गैंडा फेला परेको बताउनु भयो । ‘धानबाली खानेक्रममा स्थानीयले रड घोपेर मरेको अनुमान गरेका छौं उहांँले भन्नुभयो, यस बिषयमा थप अनुसन्धान गर्दैछौं ।’ गैंडाको कोखमा रड घोपिएको कारण भित्री चोट लागि गएराती मरेको भएपनि आज मृत भेटिएको बरालले बताउनु भयो । ‘हिजोसम्म हामीले ट्रयाकिङ्ग गर्दा जिउंँदै थियो, आज मध्यान्हतिर झाडीमा मृत फेला पर्यो ।’उहांँले भन्नुभयो ।
गैडा मृत फेला परेपनि गैंडाको खाग र खुर भने सुरक्षित रहेको उहांँले जानकारी दिनुभयो ।